News

Feb 5, 2009

नेपाली विशेषताको संघीयता बनाउन नेताहरूको एउटै मत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली विशेषताको संघीयता बनाउन प्रमुख राजनीतिक दलका नेताहरूको एउटै मत रहेको छ।संवैधानिक तथा संसदीय अभ्यास समाजद्वारा बुधबार राजधानीमा आयोजित भावी संविधानको मूल विषयमा राजनीतिक दलहरूको दृष्टिकोण’ विषयक गोष्ठीमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, संवैधानिक समितिका सभापति एवम् एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल, राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष र्सूर्यबहादुर थापा, एकीकृत नेकपा (माओवादी) का प्रवक्ता दीनानाथ शर्माले कसैको नक्कल नगरेर नेपाली मौलिकता र विशेषताका आधारमा संघीयताबारे निर्णया पुग्नुपर्ने धारणा राख्नुभयो।संघीयता, समावेशी लोकतन्त्र, बहुलवादी खुला समाज, मानवअधिकार, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक गणतन्त्र, जातीय एकताको सद्भावजस्ता विषय नेताहरूले संविधान निर्माण गर्नुअघि नै सहमति गर्न सकिने बताएका छन्। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाले नेपालको आफनै मौलिकताअनुसार देशलाई एकीकृत गर्ने खालको संघीयता निर्माण गर्नुपर्छ भन्नुभयो।संवैधानिक समितिका सभापति एवम् नेकपा एमालेका पूर्वमहासचिव नेपालले संविधान निर्माणका विषयमा संविधानको सर्वोच्चतालाई स्वीकार गर्ने, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, धर्मनिरपेक्षता, संघीयताजस्ता १७ बुँदामा दलहरूबीच सहमति गरेर जान सकिने भन्दै संविधान निर्माणको विधिलाई पनि लोकतान्त्रिक बनाउनुपर्छ भन्नुभयो।उहाँले एमालेले २०४७ सालको संविधानमा राखेका २७ बुँदे फरक मत ०६२/०६३ को जनआन्दोलनपछि पुनः स्थापित प्रतिनिधिसभाले जारी गरेको प्रतिनिधिसभा घोषणाले समेटेको स्मरण गराउँदै अनुसन्धान गर्नेले त्यस्ता विषय पनि उठाउनुपर्छ भन्नुभयो।राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री थापाले संविधान निर्माण प्रक्रियासँगै राजनीतिक पद्धति कस्तो हुने भन्ने कुराको टुंगो लगाउनुपर्छ भन्नुभयो।उहाँले नेपालको भौगोलिक स्थितिलाई पनि ख्याल गरेर राजनीतिक पद्धतिको टुंगो लगाउनुपर्छ भन्दै संसदीय प्रजातान्त्रिक पद्धति नै सबैभन्दा उपयुक्त हुने धारणा राख्नुभयो। उहाँले नेपालजस्तो देशमा कार्यकारी राष्ट्रपति, प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन दुवै हुन नसक्ने र त्यस्तो भएमा अधिनायकवाद हाबी हुन्छ भन्नुभयो।नेकपा (माओवादी) का प्रवक्ता दीनानाथ शर्माले प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई सबैले स्वीकार गरिसकेको र नेपाली विशेषताको संघीयताको व्यवस्था गर्ने कुरामा पनि एउटै मत हुने उल्लेख गर्नुभयो।समाजका अध्यक्ष बद्रीबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता डा. र्सूर्य ढुंगेललगायतले बोल्नुभएको थियो।

No comments: