News

Feb 4, 2009

गठन हुने भयो स्थानीय निकाय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा निर्वाचनमा पाएको समानुपातिक मतका आधारमा स्थानीय निकाय गठन गर्ने विषयमा प्रमुख सात दलबीच सहमति भएको छ ।मन्त्रिपरिषद्को बैठकद्वारा गरिएको सैद्धान्तिक निर्णय कार्यान्वयनका लागि गठित कार्यदलको मङ्गलबारको बैठकमा यस्तो सहमति भएको हो ।स्थानीय विकासमन्त्री रामचन्द्र झाको संयोजकत्वमा गठित कार्यदलको बैठकमा एकीकृत नेकपा -माओवादी), नेकपा -एमाले), नेपाली काङ्ग्रेस, मधेसी जनअधिकार फोरम, नेकपा -संयुक्त), सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीबीच सहमति भएको हो । समानुपातिक मतका आधारमा पद बाँडफाँड गर्ने भनिए पनि मुलुकभरिको समग्र समानुपातिक मतका आधारमा वा गाउँ/नगरमा प्राप्त मतका आधारमा पद बाँडफाँड गर्ने भन्ने विषयमा विवाद रहेको र माघ २३ गते बस्ने कार्यदलको बैठकमा यस विषयमा छलफल गरिने भएको छ ।कार्यदलका संयोजक मन्त्री झाले गोरखापत्रसँग भन्नुभयो- "कुन पार्टीले कहाँ रोज्ने भन्नेबारे कार्यदलमा छलफल हुनेछ । यही समानुपातिक मतकै आधारमा जिल्ला र गाविस तहसम्म प्रतिनिधित्व गराइनेछ ।" मन्त्री झाका अनुसार कार्यदलको मङ्गलबारको बैठकमा प्रतिनिधित्व कहाँ कहाँ गर्ने भन्नेबारेमा नाम माग्ने निर्णय भएको छ ।यो सहमतिपछि लामो समयदेखि कर्मचारीहरूबाट कार्य सञ्चालन हुँदै आएका स्थानीय निकायमा जनप्रतिनिधिको मनोनयन हुने देखिए पनि स्थानीय निकाय गठन कहिलेसम्म गर्ने भन्नेबारेमा भने छलफल बाँकी नै छ ।यसैबीच राससका अनुसार बैठकमा कार्यदलका सदस्य नेकपा -माओवादी)का देव गुरुङ, नेपाली काङ्ग्रेसका डा. प्रकाशशरण महत, नेकपा -एमाले)का लालबाबु पण्डित, मधेसी जनअधिकार फोरमका राजलाल यादव तथा नेकपा -संयुक्त)का सुनिल मानन्धर र कल्पना राणा सहभागी रहनुभएको थियो ।स्थानीय निकाय गठनका लागि एकीकृत नेकपा -माओवादी)ले संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक मतका आधारमा हुनुपर्ने बताउँदै आएको थियो भने नेपाली काङ्ग्रेस, नेकपा -एमाले) र फोरमले समानुपातिक मतका आधारमा गठन हुनुपर्ने माग गरेको थियो ।त्यस्तै अन्य साना दलले भने निर्वाचन प्रक्रियाबाटै स्थानीय निकाय गठन हुनुपर्ने बताउँदै आएका थिए ।

No comments: