News

Feb 5, 2009

फागुनदेखि १ प्रिपेड मोबाइलमा इन्टरनेट सेवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल टेलिकमले पि्रपेड मोबाइलमा इन्टरनेट सेवा सुरु गर्ने भएको छ । आगामी १ फागुनदेखि टेलिकमले प्रिपेड मोबाइलमा इन्टरनेट सेवा सुरु गर्ने भएको हो । 'फागुनदेखि काठमाडौं, बुटवल, पोखरा र नारायणगढबाट प्रिपेड मोबाइलमा पनि जिपिआरएस सेवा सुरु गरिनेछ,' नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने । उनले बुधबार राजधानीमा आयोजित पाँचौ वाषिर्कोत्सव कार्यक्रममा १ फागुनदेखि लागू हुने गरी पि्रपेड मोबाइलमा इन्टरनेट सेवा सुरु गर्ने जानकारी दिएका हुन् । सिंहका अनुसार, १ फागुनदेखि नै मध्यपश्चिम र सुदूरपश्चिममा सिडिएमए मोबाइल (स्काई मोबाइल) को प्रोस्पेड सुविधा पनि सुरु गरिनेछ । वाषिर्कोत्सवमा फागुनदेखि नै हिमाली क्षेत्रका गाविसमा क्यु ब्यान्ड भि-स्याट प्रविधिबाट इन्टरनेट सुविधा सुरु गर्ने सिंहले घोषणा गरे । पहिलो चरणमा बाग्लुङबाट सुरु गरिने सो सेवा अन्य क्षेत्रमा पनि विस्तार गरिने उनले बताए । पाँचौं वाषिर्कोत्सव अवसरमा टेलिकमले एसएमएसमा आधा छुट दिने भएको छ । हाल करसहित प्रतिएसएमएस १ रुपैयाँ २४ पैसा पर्नेमा छुट उपलब्ध भएपछि भने प्रतिएसएमएस करसहित मात्र ६२ पैसा पर्ने भएको छ । टेलिकमले पिएसटिएन टेलिफोन जडान शुल्कमा पनि कटौती गरेको छ । सिंहले १ फागुनदेखि चैतसम्म टेलिफोन जडान शुल्क एक हजार ८ सयबाट कटौती गरी ९ सय रुपैयाँ कायम गरेको जानकारी दिए । यसैगरी कलर आइडी र डायलअप इन्टरनेट महसुलमा पनि सहुलियत दिने घोषणा सिंहले गरे । १ फागुनदेखि लागू हुने गरी कलर आइडीको २ सय र डायलअप इन्टरनेटमा आधा छुट दिने निर्णय भएको उनले बताए । वाषिर्कोत्सवकै अवसरमा टेलिकमले गत असारसम्मको बाँकी महसुल तिरेमा जरिवाना छुट दिने भएको छ । वाषिर्कोत्सवमा सिंहले कम्पनीको मुनाफा उत्साहजनक भएकाले सेयरधनीलाई लाभांश वितरण गर्न सकिने बताए । उनले फागुन अन्तिममा हुने टेलिकमको प्रथम वाषिर्क साधारणसभामा लाभांश वितरण प्रस्ताव लाने जानकारी दिए । सिंहले गत आर्थिक वर्षमा टेलिकमले २२ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको बताए । कार्यक्रममा सञ्चारमन्त्री कृष्णबहादुर महराले आर्थिक विकासमा दूरसञ्चारको भूमिका महत्त्वपूर्ण भएको बताए । उनले दूरसञ्चार क्षेत्रको मागसँगै चुनौती पनि थपिएको बताउँदै महत्त्व बुझेर काम गर्न कर्मचारीलाई आग्रह गरे । महराले टेलिकमको मोबाइलको गुणस्तरबारे गुनासो आउने गरेको बताउँदै गुणस्तर विषयमा खुलेर बहस गर्न तयार हुनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुग्न नसकेको भन्दै सेवालाई ग्रामीण क्षेत्रमा केन्द्रीत गर्न सुझाव दिए । कार्यक्रममा टेलिकम संचालक समिति अध्यक्ष एवं सञ्चार मन्त्रालयका सचिव लीलामणि पौडेलले दूरसञ्चारको विस्तारका लागि पहल गर्ने बताए । उनले मागअनुरुप सेवा विस्तार गर्न टेलिकम लागिपर्ने जानकारी दिए ।

No comments: