News

Feb 4, 2009

दाइजो नपाएपछि श्रीमतीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरीका प्रधानाध्यापकले दाइजो नल्याउने श्रीमतीलाई घरनिकाला गरेको घटना सेलाउन नपाउँदै दाइजो नल्याएकै कारण कपिलवस्तुकी एक महिलाले ज्यान गुमाउनुपरेको छ । ५० हजार दाइजो नल्याएको भन्दै कपिलवस्तु राजपुरका राम केवटले आफ्नै श्रीमती झिंकीको हत्या गरेका छन् । दाइजोको विषयमा कुरा नमिलेपछि श्रीमान् रामले २१ वर्षीया श्रीमती झिंकीलाई मारेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक लीलाराज लामिछानेले बताए । लामिछानेका अनुसार रामले श्रीमतीसँग दाइजोस्वरूप ५० हजार मागेको र नपाएपछि कुटपिट गरी मारेर घरकै दलिनमा झुन्ड्याइदिएका थिए । गत सोमबार घरकै दलिनमा झुन्डिएको अवस्थामा फेला परेको झिंकीको शरीरमा गहिरोचोट लागेको तथा घाँटीमा नीलो डाम भएको प्रहरीले बताएको छ । शव सोमबार नै भेटिए पनि घटनाको पुष्टि भने मंगलबार पोस्टमार्टमका लागि अस्पताल ल्याइएपछि मात्र भएको छ । छोरीको निर्ममतापूर्वक हत्या गरेको भन्दै झिंकीका बाबुले प्रहरी र प्रशासनमा किटानी जाहेरी दिएपछि श्रीमान् राम र ससुरा नारायणलाई मंगलबार नै प्रहरीले पक्राउ गरेको छ । झिंकीका बाबुको किटानी जाहेरीका आधारमा श्रीमान् र ससुरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बताए ।पोस्टमार्टमका क्रममा मृतक महिलालाई घाँटी च्यापेर हत्या भएको खुल्न आएको जिल्ला अस्पताल तौलिहवाका प्रमुख डा. अनन्त शर्माले बताए । 'पहिला कुटपिट भयो, त्यसपछि घाँटी च्यापेर स्वास रोकिएपछि मृत्यु भएको पोस्टमार्टमबाट देखिन्छ,' डा. शर्माले भने ।झिंकीका बाबु भगवानदासले छोरीलाई पटक-पटक दाइजोको पैसा माग्न पठाउने गरेको, तर आर्थिक अवस्था कमजोर भएकाले दिन नसकेको बताएका छन् । 'दाइजोको पैसा ५० हजार मागेको छ भन्दै अस्ति आएकी थिई, मैले अहिले छैन खोज्दै छु भनेर छोरीलाई पठाएँ, भोलिपल्टै छोरी मारेछन्,' उनले भने । मृतकका माइती पक्षले हत्यारालाई कडा कारबाहीको माग गरेका छन् । उता झिंकीका परिवारले भने बिहेअघि भएको सर्तअनुसार नै दाइजो माग्ने माग गरेको बताएका छन् । 'दाइजो दिने सर्तमा बिहे भएको हो,' मृतकका श्रीमान् राम केवटले प्रहरीसमक्ष बताए । ०६१ मा विवाह हुँदा नै दाइजोको प्रस्ताव गरिएको उनको दाबी छ । 'जतिसक्दो छिटो दाइजो दिने सहमति माइती पक्षबाट भएको थियो,' रामका बाबु नारायणले प्रहरीसितको बयानमा भने, 'बिहेमा जे पाइयो-पाइयो, चार-चार वर्षसम्म बाँकी केही आएन ।' केवट परिवारले विदेश जान दाइजोको पैसा अहिले मागेको बताएको छ ।घटनाको अनुसन्धानमा जुटेको प्रहरीले केवट परिवारलाई नै छानबिनको घेरामा राखेको छ भने हत्या गरिएकी झिंकीका श्रीमान् र ससुरालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाका आरोपीलाई तत्काल अदालती प्रक्रियामा पुर्‍याउने जनाएको छ । महिला अधिकाकर्मीले घटनाको विरोध गरेका छन् ।

No comments: