News

Feb 3, 2009

त्रिविले सच्यायो बुद्धसम्बन्धी भ्रामक पाठ्यपुस्तक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अंग्रेजी विभागले स्नातक दोस्रो वर्षको पाठ्यपुस्तकमा भएको बुद्धसम्बन्धी भ्रामक सामग्री हटाएको छ । अंग्रेजी केन्द्रीय विभाग प्रमुख डा. कृष्णचन्द्र शर्माले एक सूचना निकाली तत्काल लागू हुनेगरी पुस्तकबाट बुद्धको जन्मस्थल सम्बन्धमा गलत तथ्य उल्लेख भएको पाठ हटाइएको जनाएका छन् । त्रिविले १० वर्षदेखि पढाउँदै आएको चाल्र्स भान डोरेद्वारा लिखित 'अ हिस्ट्री अफ नलेज' को विस्डम अफ द एन्सिएन्ट नामक पाठ्यांशमा 'बुद्ध भारतमा जन्मेको' उल्लेख छ । सो विषयमा नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि विद्यार्थी आन्दोलित बनेका थिए । विभागीय प्रमुख शर्माले निकालेको सूचनामा भनिएको छ, 'चाल्र्स भान डोरेनद्वारा लिखित पुस्तक 'अ हिस्ट्री अफ नलेज'को 'विस्डम अफ द एन्सिएन्ट' नामक शीर्षकको बुद्धिज्म उपशीर्षकमा आपत्तिजनक अभिव्यक्ति पाइएकाले अंग्रेजी विषय समितिको अध्यक्षका हैसियतले पूर्ण बैठकबाट अनुमोदन गराउने गरी 'विस्डम अफ द एन्सिएन्ट' शीर्षक पठन-पाठन र परीक्षा प्रयोजनका लागि समेत तत्काल लागू हुनेगरी हटाइएको छ ।' स्नातकोत्तरमा अंग्रेजी पढाइ हुने त्रिविका सबै क्याम्पसमा यो लागू हुने विभागले जनाएको छ । विभागीय प्रमुख शर्माले त्रिविका रेक्टरको कार्यालय, पाठ्यक्रम विकास केन्द्र, मानविकी संकायको डिनको कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयलाई समेत जानकारी गराएका छन् । अंग्रेजीका विद्यार्थीले सो पाठ मात्र नभएर पुस्तक नै खारेज गर्नुपर्ने माग गरेका छन् । उनीहरूले सोमबार विभाग परिसरमा सो पुस्तकको फोटोकपी जलाए । स्नातक दोस्रो वर्षका विद्यार्थी नारायण पौडेलले पुस्तक नै परिवर्तन नगरेसम्म विद्यार्थीले आन्दोलन जारी राख्ने बताए । यसैबीच, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. तुलसीराम वैद्यले पाठ्यक्रममा बुद्धसम्बन्धी भ्रामक तथ्य उल्लेख भएको बारे त्रिविका उपकुलपतिसँग स्पष्ट जानकारी माग्ने बताएका छन् । राजधानीमा भएको कार्यक्रममा उनले नेपालले व्यापक प्रचार-प्रसार गर्न नसकेका कारण विश्वमा भ्रामक कुरा फैलिएको टिप्पणी गरे । बुद्धसम्बन्धी डकुमेन्ट्री बनाएर अन्य देशमा पठाएमा वास्तविकताको प्रचार हुने वैद्यको भनाइ छ ।

No comments: