News

Feb 3, 2009

राष्ट्रपति शीतलनिवास सर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा.रामवरण यादव सरकारी भवन शीतलनिवासमा सर्ने भएका छन् । सरकारले तत्कालीन परराष्ट्र मन्त्रालय बसेको भवनलाई उनको निजी आवास तोकेको छ । राष्ट्रपति कार्यालयसँगै रहेको परराष्ट्र मन्त्रालय नारायणहिटी दरबारको पश्चिम ढोकामा सरेपछि राष्ट्रपति यादव शीतलनिवास सर्न लागेका हुन् । राष्ट्रपति कार्यालयसमेत रहेको शीतलनिवासको पहिलो र दोस्रो तलालाई सरकारले आवासका रूपमा विकास गर्न सुरु गरेको छ । सरकारले सो भवनका ११ वटा कोठा राष्ट्रपति र उनका निजी सुरक्षाकर्मीको आवासका लागि छुट्याएको छ । भवन विभागको एक टोलीले आइतबार राष्ट्रपति यादवलाई उनको आवासबारे जानकारी गराएका छन् । टोलीले भवनको वस्तुस्थितिका बारेमा समेत राष्ट्रपतिलाई अवगत गराएका थिए । भवनमा रहेका सुत्ने कोठा, बाथरुम, सचिवालय, बैठककक्ष लगायतका बारेमा पनि जानकारी गराइएको राष्ट्रपतिनिकट स्रोतले जानकारी दिएको छ ।राष्ट्रपति यादव सरकारी निवासमा छिटो सर्ने पक्षमा रहेको स्रोतले बतायो । सुरक्षा संवेदनशीलता, कार्यालय र निवास आउँदा-जाँदा सर्वसाधारणलाई पर्ने कठिनाइ र राज्यलाई आर्थिक व्ययभारसमेत बढी हुने भएकाले उनी छिटो सरकारी निवासमा सर्ने मनस्थितिमा रहेको बुझिएको छ । तर, मन्त्रालय बसेको भवनलाई निवासका रूपमा विकास गर्न एक महिना बढी समय लाग्ने अनुमान छ । भवन निर्माण विभागका एक कर्मचारीका अनुसार कतिपय कोठाका गाह्रो भत्काएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् । सरकारले उचित सरकारी अवासको अभावमा उनलाई तत्कालका लागि भाडाको घरमा बस्ने व्यवस्था मिलाएको थियो । चक्रपथदेखि झन्डै दुई सय मिटर उत्तरमा पर्ने धापासीमा रहेको भाडाको घरमा राष्ट्रपति यादव बस्दै आएका छन् । कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले तीन महिना भाडाको घरमा नै आवासको व्यवस्था मिलाउने निर्णय गरेको थियो । सो व्यवस्था मिलाउन भौतिक योजना मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।साँघुरो आवासका कारण राष्ट्रपतिको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई नजिकै अर्को घर भाडामा लिएर बस्ने व्यवस्था मिलाइएको छ ।

No comments: