News

Feb 5, 2009

ऋषि धमला ४० लाख रकम फिरौती उठाउन सक्रिय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला रणवीर सेनाका लागि काठमाडौंका एक व्यापारीसँग ४० लाख रकम फिरौती उठाउन सक्रिय रहेको प्रहरीले खुलासा गरेको छ । हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले धमलालाई १४ दिनको थुनुवा पुर्जी दिएको छ । पुतलीसडकमा रहेको क्लबको कार्यालयबाट मंगलबार पक्राउ परेका धमला रणवीर सेनाका उपत्यका राजनीतिक इन्चार्ज रामशुभक महतो, उपत्यका सैन्य इन्चार्ज विनायक महतो र सहयोगी वीरेन्द्रकुमार महतोसँग मिलेर चन्दा उठाउन सक्रिय रहेको प्रहरीको दाबी छ । राजधानीमा एक महिनाअघि भएका शृंखलाबद्ध विस्फोटमा समेत धमला मुछिएका छन् । धमलाले 'आपराधिक क्रियाकलाप सञ्चालन गर्न विभिन्न प्रकारले सहयोग गरेको' अभियोग प्रहरीले लगाएको छ । प्रहरी स्रोतका अनुसार धमलाको बुधबारसम्म बयान लिइएको छैन । हनुमानढोकाको हिरासतमा रहेका उनीसँग बिहीबारबाट बयान लिने प्रहरी स्रोतले बतायो । प्रहरीले जिप्रका लैजानुअगाडि सास फेर्न गाह्रो भएको बताएपछि धमलालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगेको थियो । तर, धमलाको स्वास्थ्य अवस्था ठीक भएको पाइएकाले प्रहरीले उनलाई म्याद थपका लगि बबरमहल लग्यो ।अस्पताल परिसरमा धमलाले पत्रकारसित कुरा गर्दै आफूमाथि राज्यले षड्यन्त्र रचेको आरोप लगाए । उनले 'परिआए सशस्त्र संघर्ष पनि गर्ने' धम्कीसमेत दिएका थिए । आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिँदै उनले भने, 'म यो राज्यलाई छाड्दिनँ ।'प्रहरीले नेपाल पुलिस क्लबमा पत्रकार सम्मेलन गरी अभियोग पुष्टिका लागि रामशुभक, विनायक र वीरेन्द्रको भिडियो बयानका साथै चन्दाका बारेमा धमला र रामशुभकबीच भएको टेलिफोन रेकर्ड सार्वजनिक गरेको थियो । रामशुभकले आफू प्रदीप उपनामले रणवीर सेनामा संलग्न रहेको स्वीकार गरेका छन् । एक व्यापारीसँग पार्टीले पैसा उठाउने जिम्मा दिएको र त्यसमा धमलाले सहयोग गरेको उनले बयानमा बताए । व्यापारीको नाम खुलाइएको छैन । महतोले १९ गते टेकुमा पैसा लिन जाँदा वरिपरि प्रहरी रहेको शंका लागेपछि आफू त्यत्तिकै फर्किएको बयान दिएका छन् । २० गते बिहान रिपोर्टर्स क्लबमा भएको छलफलपछि पुनः बेलुका पैसा लिन अनामनगर जानेक्रममा आफूहरू पक्राउ परेको शुभकले बताएका छन् । महतोले बयानमा भने, 'योजनाअनुसार २० गते अनामनगरमा पैसा लिन गयौँ । त्यहाँ हामीलाई पक्राउ गर्न प्रहरी बसेको रहेछ । हामी तीनजना पक्राउ पर्‍यौँ ।'पक्राउ परेका अर्का व्यक्ति सञ्जयका अनुसार व्यापारीसँग ४० लाख असुल गरेपछि २० लाख पार्टी हुन्डी गरी १० लाख धमलालाई र बाँकी १० लाख तीनजनालाई बाँड्ने योजना थियो । उनले काठमाडौंको रत्नपार्क, एयरपोर्ट, काठमाडौं मल र दरबार स्कुलअगाडि भएको विस्फोट आफूहरूले गराएको स्वीकार गरे । यी सबै काममा धमलाले सुरक्षाको प्रत्याभूति दिएको उनको दाबी छ । उता रिपोर्टर्स क्लब सुनसरीका अध्यक्ष रहेका वीरेन्द्रकुमार मेहताले कामको सिलसिलामा काठमाडौं आएको वेलामा धमलासँग भेट हुँदा 'व्यापारीलाई रणवीर सेनाले धम्क्याइरहेको छ, मिलाउनुपर्छ, पैसा आउँछ' भनेर काममा सहमत गराएको दाबी गरेका छन् । बयानमा उनले ऋषि धमलाले काम गरेबापत आफूलाई पाँच लाख दिने आश्वासन दिएकोसमेत दाबी गरे । वीरेन्द्रका अनुसार व्यापारीले सुरुमा १० लाख मात्र दिने र बाँकी पैसा बिस्तारै दिने बताएका थिए । सो विषयमा छलफल गर्न रणवीर सेनाका रणवीरलाई फोन गर्दा 'धमला हाम्रो पार्टीको विश्वासिलो व्यक्ति हो उसैलाई दिनू' भन्ने निर्देशन दिएको वीरेन्द्रले बयानमा बताएका छन् । प्रहरीले भियुक्तहरूसहित पत्रकार सम्मेलन गर्ने बताए पनि सोमबार चारैजना अभियुक्तलाई सार्वजनिक गरेन । म्याद थप भएलगत्तै धमलालाई हनुमानढोका लगेर राखिएको थियो भने अन्य तीनजनालाई नेपाल पुलिस क्लबमा ल्याइए पनि पत्रकारमाझ ल्याइएन । काठमाडौं परिसरका एक उच्च अधिकृतले पत्रकारहरूको संख्या धेरै भएकाले उनीहरूलाई सार्वजनिक गर्न कठिनाइ भएको दाबी गरे । तर, उता महानगरीय प्रहरी आयुक्त रमेश श्रेष्ठले भने स्वास्थ्यका कारण धमलालगायतकालाई सार्वजनिक नगरिएको बताए ।

No comments: