News

Feb 3, 2009

चोरीको मोटरसाइकल नेपाली सेना र वाइसिएलले चढ्छन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीबाट चोरी गरी नुवाकोट पुर्‍याइएका मोटरसाइकल नेपाली सेना र वाइसिएलले चढ्ने गरेको तथ्य फेला परेको छ । प्रहरीले तीन महिनाको अवधिमा १४ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । तीमध्ये चारवटा वाइसिएल कार्यकर्ता र एउटा सेनाका जुनियर अधिकृतले चढेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार चार मोटरसाइकल भने धनीलाई नै बुझाइएका छन् । सेनाका एक जुनियर अधिकृतले बा १५ प ७६१० नम्बरको नक्कली प्लेट हालेर पाँच वर्षअघिदेखि चलाइरहेको मोटरसाइकल प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएको थियो । तर, मोटरसाइकल धनी अहिलेसम्म सो मोटरसाइकलको बिलबुक लिएर नआएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक दिलीपकुमार गिरीले नयाँ पत्रिकासँग भने, 'वाइसिएलले चढेका चोरीका मोटरसाइकल समातेपछि पार्टीबाटै मोटरसाइकल छुटाउन दबाब आउने गरेको छ ।' प्रहरी कार्यालयपरिसरमा अहिले सातवटा चोरीका मोटरसाइकल छन् । नुवाकोट लगिएका मोटरसाइकल गल्छी-देवीघाट, गंगटे-खरानीटार सातबीसे-चोकदेलगायतका क्षेत्रमा चल्ने गरेका छन् । ग्रामीण भेगमा चल्ने अधिकांश चोरीका मोटरसाइकल सदरमुकाम कमै मात्रामा आउने भएकाले जिल्ला ट्राफिक कार्यालयको छड्के जाँचमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गिरीले बताए । राजधानीबाट एउटा गिरोहले चोरीको मोटरसाइकल ककनीको काउलेथाना, थानसिङ हुँदै सदरमुकाम ल्याउने गरेको छ ।

No comments: