News

Feb 8, 2009

अज्ञात समूहव्दारा प्युठानमा चौकी आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गस्तीबाट भर्खर मात्र फर्केको प्रहरी टोली सुत्ने तरखरमा थियो । कोही जोक भन्दै ओछ्यान तताउँदै थिए भने कोही बिदा मिलाएर घर जाने कुरा गर्दै थिए । राति १२ बजे आफूहरूमाथि एकाएक आक्रमण होला भन्ने प्युठानको दुर्गम स्याउलिवाङ प्रहरीचौकीमा रहेका १० प्रहरीलाई पत्तोफाँट थिएन ।'साथीहरू आ-आफ्नो मुडमा थिए, त्यत्तिकैमा बाहिर कुनै हतियार चलाएजस्तो आवाज सुनियो,' स्याउलिवाङ प्रहरीचौकीको नेतृत्व गरिरहेका सहायक निरीक्षक देवबहादुर खड्काले घटनाबारे जानकारी दिँदै भने, 'अनुमानै नभएको आक्रमण फेस गर्नुपर्दा हामी आत्तियौँ । अन्धाधुन्ध गोली चल्न थाल्यो । तत्कालै प्रतिकार गर्न सक्ने स्थिति नै रहेन ।'चौकीमा आक्रमण सुरु भएको निश्चित भएपछि असई खड्काले आफ्ना जवानलाई हतियार उठाएर प्रतिकार गर्न निर्देशन त दिए, तर ढिला भइसकेको थियो । यतिवेलासम्म चौकी परिसरमा सेल्ट्री बसेका प्रहरी जवान सुमन जिसीलाई आक्रमणकारीले ढलाइसकेका थिए । नेपालगन्ज प्रहरीलाई टेलिफोनमार्फत जानकारी दिँदै आक्रमण भएको चौकीका असई खड्काले भने, 'आक्रमणकारीहरू झन्डै ४५ जनाजति थिए ।उनीहरूसँग स्वचालित हतियार थियो । आक्रमण पनि त्यही रफ्तारमा गरे ।'चौकी आक्रमणमा मृत्यु भएका प्रहरी जिसी प्युठान तोरवाङवासी हुन् । सुमनको मृत्यु भएपछि चौकीमा रहेका अन्य प्रहरी हतियार छाडेर भागेका थिए । असई खड्काका अनुसार आक्रमणकारीले झन्डै आधा घन्टासम्म चौकीमाथि लगातार आक्रमण गरेका थिए । 'गोली चलिरह्यो । साथीहरूले सम्हाल्न सक्ने स्थिति नभएपछि सबै भाग्न थाल्यौँ,' उनले भने, 'सबै साथी गाउँलेकोमा पुगेर शरण लिइयो ।'आक्रमणपछि प्रहरीचौकीमा रहेका तीन प्रहरी शनिबार बिहान ११ बजेसम्म सम्पर्कबाहिर थिए । ६ जना भने बिहान ६ बजे फोन-सम्पर्कमा आए । आक्रमणकारीले चौकीमा रहेका पाँच थान राइफल, एउटा सटगन र एउटा पेस्तोल तथा ठूलो परिमाणमा गोली लिएर गएको प्रहरीले बताएको छ ।
स्याउलिवाङमा कार्यरत
प्रहरी देवबहादुर खड्का,
प्रहरी सहायक निरीक्षक अंकित कुमाल,
प्रहरी हवल्दार गणेशबहादुर बलायत,
प्रहरी जवानहुकुमसिंह बोगटी,
प्रहरी जवानमाधव ओली,
प्रहरी जवानहीराबहादुर शाही,
प्रहरी जवानकृष्णबहादुर कठायत,
प्रहरी जवानरामबहादुर शाही,
प्रहरी जवानकर्णबहादुर बिसी,
प्रहरी जवानसुमन जिसी प्रहरी जवान (मृतक)

No comments: