News

Jul 29, 2009

सचेत बन्दै पाकिस्तानी यौनकर्मी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ वर्षे युवती जेवा रहमान यौनकर्मी हुन् । उनी यही पेसा अपनाउने परिवारमै जन्मिन्, हुर्किन् र यसै पेसाले जीवन धान्छिन् । कराँचीको यौनबजार क्षेत्र नेपियरबाट उनी सहरका यौनभोगीका लागि आफूलाई सुम्पिइरहेकी छिन् । अहिले उनी यौनकर्मीको स्वास्थ्यसम्बन्धी चेतना जागरण कार्यक्रम सुरु गर्न लागिपरेकी छन् । उनी भन्छिन्, 'अब हामी समाजमा स्पष्टरूपले प्रकट भएका छौँ ।'मुसलमान बहुल पाकिस्तानजस्तो देशका बहुसंख्यक मानिसका लागि देहव्यापार एउटा अवैध र घृणित धन्दा रहिआएको छ । जीवनको यो कटुसत्यलाई यथार्थमा कहिल्यै पनि स्वीकार गरिएको छैन । गत दुई दशकयता द्रुतगतिले इस्लामीकरण भइरहेको पाकिस्तानी समाजमा देहव्यापारमा संलग्न महिलाका बारेमा विद्यमान पुरानो धारणा उस्तै नै छ । तर, पेसाका रूपमा देहव्यापार भने बढी नै रहेको छ । स्थानीय कल्याणकारी संस्थाले बटुलेको तथ्यांकअनुसार कराँचीमा मात्रै कम्तीमा एक लाख महिला यौनकर्मी छन् । अर्को महत्त्वपूर्ण सहर लाहोरमा ७५ हजार यौनकर्मी छन् र सैनिक मुख्यालय रहेको सहर रावलपिण्डीमा २५ हजार महिला सेवारत छन् ।पाकिस्तानमा यौनकर्मीका लागि पहिलोपल्ट आयोजना गरिएको स्वास्थ्य चेतना कार्यशालाले यस पेसाको खुलापनका लागि मद्दत गरेको छ । सायद यसैले नै हो, जेवाले भनिन्, 'पहिले हामी गोप्य ढंगले व्यापार गथ्र्यौँ, अहिले हामी अधिकारका लागि आफ्नो आवाज बुलन्द गर्न सक्छौँ ।'संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा स्थानीय सामाजिक कल्याण संस्था लैंगिक तथा प्रजनन स्वास्थ्य मञ्च(जिआरएचएफ) द्वारा आयोजित तीनदिने कार्याशाला भर्खरै सकियो । कतिपय यौनकर्मी सहभागी भएकामा जेवा निकै खुसी भएकी छन् । उनी यस कार्यशालाले यौनकर्मीलाई एकै ठाउँमा भेला भएर अनुभव र विचारको आदानप्रदान गर्ने अवसर दिएको ठान्छिन् । जेवाले कार्यशालाबाट आफ्नो आत्मविश्वास निकै बढेको बताइन् ।कार्यशालामा सहभागी भएकी अर्की युवती २६ वर्षे नादियाले पाँच वर्षअघि मात्रै आफू यौनकर्मी बनेको बताइन् । उनले पनि कार्यशालाबाट सुरक्षित यौनका उपायहरू सिकेको स्वीकार गरिन् ।'मैले एचआइभी एड्सबारे सुनेकी त थिएँ, तर यो रगतबाट मात्रै सर्छ भन्ठान्थेँ । मलाई सहवासका वेला नै रोकथामका उपाय अपनाउनुपर्छ भन्ने थाहा थिएन,' नादियाले भनिन्, 'कार्यशालामा भाग लिने धेरै यौनकर्मीलाई सुरक्षित यौनका उपायबारे ज्ञान थिएन ।' आयोजक संस्थाका प्रमुख तथा कार्यशालाको वैचारिक अभियन्ता डा. गुलाम मुर्तजाले संस्थाले महिला यौनकर्मीबीच चेतना जागृत गरिरहेको बताए ।डा. मुर्तजाले यौनकर्मीलाई एकै छानामुनि जम्मा गर्नु अति नै कठिन काम भएको अनुभव सुनाए । उनले धेरैजना त पक्राउ पर्ने डरले आत्तिएका समेत देखेका थिए । 'हामीले उनीहरूलाई धेरै आश्वस्त पार्‍यौँ, कयौं प्रोत्साहन दियौँ अनि उनीहरू सहभागी भइदिएकोमा प्रतिव्यक्ति प्रतिदिन एक हजार पाकिस्तानी रुपैयाँ(२० डलर) समेत दियौँ । अन्ततः हामीले एक स्थानीय होटलमा सयजना यौनकर्मी भेला गर्न सफल भयौँ,' मुर्तजाले भने ।सहभागी धेरै यौनकर्मीले आफ्नो परिवारलाई थाहा होला भन्ने डरले क्यामेरा म्यानलाई भित्र पस्न दिन मानेनन् । धेरैले आफ्ना पति वा परिवारलाई आफू यौनकर्मी भएको थाहा नभएको बताए । उनीहरू वास्तवमा निजी र्फममा काम गर्छु भनी आफ्नो वास्तविक कमाउ कामलाई लुकाउने गर्छन् । यति हुँदाहँदै पनि डा. मुर्तजा कार्यशाला सफल भएको तर्क दिँदै भन्छन्, 'हामीले केही महिला यौनकर्मीलाई प्रशिक्षित गर्‍यौँ । अब उनीहरूले नै आफ्नो समुदायमा पुगेर आफ्ना सहकर्मीलाई प्रशिक्षित तुल्याउनुपर्छ ।'कार्यशालामा आएका अन्तर्राष्ट्रिय सहभागीहरूले एचआइभी/एड्सको प्रसंगमा पाकिस्तान अझैं पनि तुलनात्मक रूपले सुरक्षित रहेको बताएका थिए । संरासं जनसंख्या कोषका प्रतिनिधि डा. सफदर कमाल पासाले पाकिस्तानको मध्य-पन्जाबमा कम्तीमा सयजना एच्आइभी संक्रमित यौनकर्मी पत्ता लागेको बताए । तर, पूरै पाकिस्तानमा महिला यौनकर्मीमा एचआइभी संक्रमित महिलाको संख्या भने त्यति उच्च नरहेको उनले जानकारी दिए । उनले यौनकर्मीमाझ रोगसम्बन्धी चेतना अभिवृद्धि तथा रोकथामका उपाय अपनाउने हो भने यसलाई नियन्त्रण गर्न सकिने बताए । उनले यस कार्यशालाको सफलताको आलोकमा अर्को वर्ष यौनकर्मीहरूका लागि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने योजनासमेत सार्वजनिक गरे ।

No comments: