News

Jul 25, 2009

माओवादी सामूहिक नेतृत्वमा जाने करिब निश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११ - माओवादी सामूहिक नेतृत्वमा जाने करिब निश्चित भएपछि मुख्य पद विभाजनका विषयमा विवाद देखिएको छ । स्थगित हुँदै चलेको केन्द्रीय समिति बैठकमा पार्टी सामूहिक नेतृत्वमा जानुपर्ने ठूलो दबाब भएपछि पद विभाजनको विषयमा पार्टी उच्च तहमा लामो छलफल भएको छ ।तर त्यस विषयमा सहमति हुन सकेको छैन । सबभन्दा बढी विवाद संविधानसभा दलका उपनेता नाराणकाजी श्रेष्ठका विषयमा भएको स्रोतले दाबी गरेको छ । पार्टी एकीकरणपछि उपनेता बाबुराम भट्टराईलाई हटाएर श्रेष्ठलाई जिम्मा दिइएको थियो । वरिष्ठ नेता मोहन वैद्यले पार्टी सामूहिक नेतृत्वमा जाने भएपछि पद विभाजनका विषयमा छलफल भएको स्वीकारे । उनले 'स्वाभाविक रूपमा' उच्च तहमा छलफल जारी रहेको बताए । 'आन्तरिक छलफलको विषय बाहिर भन्न मिल्दैन,' उनले भने, 'अझ राम्रो सामूहिक नेतृत्व हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।' उनलाई पार्टीको वरिष्ठ उपाध्यक्ष बनाउने विषयमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन । पूर्वएकता केन्द्र मसालका नेताहरूले भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई बनाउनुपर्ने प्रस्ताव राखेका छन् । उक्त प्रस्तावलाई माओवादीका वरिष्ठ नेताहरूले अध्यक्ष पुष्पकमल दाहालसमक्ष असहमति जनाउँदै आएको स्रोतले जनाएको छ । उनीहरूले 'एकताको भावना' अनुसार संविधानसभा दलको उपनेता दिनुका साथै संसदीय फाँटको इन्चार्ज बनाइसकेको तर्क गरेका छन् । अन्य दुई उपाध्यक्ष पदमा वरिष्ठ नेता बाबुराम भट्टराई र श्रेष्ठका लागि छलफल भए पनि सहमति नभएको एक सचिवालय सदस्यले कान्तिपुरलाई बताए । संविधानसभा संसद्मा भट्टराईलाई अध्यक्ष दाहालपछि दोस्रो वरीयताक्रममा बस्ने व्यवस्था छ । केन्द्रीय समितिको बैठकमा दाहालको दायाँतिर भट्टराई, बायाँतिर वैद्य र भट्टराईपछि श्रेष्ठ र वैद्य पछि रामबहादुर थापा बस्ने व्यवस्था मिलाइएको छ । महासचिवका विषयमा रामबहादुर थापा प्रस्तावित छन् । उनका विषयमा भने खास विवाद नभएको स्रोतको भनाइ छ । सचिव पदका लागि भने संविधानसभा दलका मुख्य सचेतक पोस्टबहादुर बोगटी र विदेश विभाग प्रमुख सीपी गजुरेल प्रस्तावित भएका छन् । वैद्य पक्षका नेताहरूले बोगटी सचेतक भएकाले गजुरेललाई सचिव बनाउनुपर्ने प्रस्ताव राखेको स्रोतले भनेको छ । 'कि पार्टीको मोर्चा कि संसद्को मोर्चा सम्हाल्नुपर्ने कुरा उठेको छ,' एक पोलिटब्युरो सदस्यले भने, 'सबै नेतृत्व सम्हाल्न खोज्दा प्रभावकारी काम हुन सक्दैन ।' केन्द्रीय समितिको बैठकमा सदस्यले पार्टीमा 'शक्ति सन्तुलन' मिलाइनुपर्ने माग गरेका थिए । त्यसको अर्थ अध्यक्ष दाहाल र वैद्यका साथै पूर्वएकता केन्द्र मसालका नेताहरूलाई हैसियतअनुसार जिम्मेवारी दिनु हो ।सामूहिक नेतृत्वमा जाने विषयमा पार्टीमा करिब निश्चित भइसकेको नेता गजुरेलले बताए । 'पद विभाजनका विषयमा छलफल भइरहेको छ,' उनले शनिबार भने, 'सचिवालय बैठकले टुंगो लगाउनेछ ।' उनले महाधिवेशनअघि नै पार्टी सामूहिक नेतृत्वमा जाने निश्चित भएको बताए । शनिबार अपराह्न सचिवालयको बैठक बोलाएको भए पनि दाहाल पूर्वनिर्वाचन आयुक्त वीरेन्द्रकुमार मिश्रले लेखेको पुस्तक विमोचनमा गएका कारण स्थगित भएको थियो ।विगत १८ वर्षदेखि शक्तिशाली अध्यक्ष र महासचिवको रूपमा दाहालले पार्टीको नेतृत्व गर्दै आएका छन् । पार्टीमा नेतृत्वको 'प्राधिकार' हावी भएको भन्दै नेताहरूले सामूहिक नेतृत्वको माग गर्दै आएका छन् । दाहाल पक्षका केही नेताहरूले भने महाधिवेशनका बेला सामूहिक नेतृत्वमा जानुपर्ने धारणा बैठकमा राखेका छन् ।
पार्टी सामूहिक नेतृत्वमा
जाने करिब निश्चित भएपछि दाहाललाई मुख्य पद बाँडफाँड गर्न निकै अप्ठ्यारो परेको स्रोतको भनाइ छ । बाँडफाँड मिलाउन दाहालले वैद्य, भट्टराई, श्रेष्ठलगायत वरिष्ठ नेताहरूसँग पटक-पटक छलफल गरे पनि सहमति हुन सकेको छैन । प्रमुख पद बाँडफाँडका विषयमा सहमति हुन नसकेपछि राजनीतिक प्रतिवेदन पारित गरिएको छैन ।'सबै विषय प्याकेजमै पारित गर्ने भएकाले बैठक लम्बिएको हो' प्रवक्ता दीनानाथ शर्माले भने, 'अध्यक्ष त्यसकै गृहकार्यमा लागि रहनुभएको छ ।' दाहालले 'संयुक्त राष्ट्रिय सरकार' र शान्ति र संविधान निर्माणको तत्कालीन कार्यनीति भएको राजनीतिक प्रतिवेदन भने अधिकांश केन्द्रीय सदस्यले समर्थन गरिसकेका छन् ।

No comments: