News

Jul 23, 2009

अनमिनको म्याद ६ महिना थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, साउन ८ - सुरक्षा परिषदले चौथो पटक नेपालस्थित राष्ट्रसंघीय मिसन (अनमिन) को म्याद थप गरेको छ । आगामी माघ ९ सम्म अनमिनको कार्यावधि रहनेछ । गत असार २४ मा नेपालले राष्ट्रसंघका महासचिव बान कि मुनसमक्ष अनमिनको म्याद थप्न अनुरोध गरेको थियो । साउन ८ देखि म्याद समाप्त हुँदैथियो । परिषदले मंगलबार गरेको निर्णय बिहीबार सार्वजनिक गरिने छ ।सोमबार र मंगलबार बसेको परिषद बैठकमा पाँच स्थायीसहित पन्ध्र सदस्य राष्ट्रहरूले अनमिनको म्याद थप्न एकमत भए पनि शान्ति प्रक्रियाको प्रगतिबारे तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । 'विशेषतः सरकार र प्रमुख प्रतिपक्ष माओवादीबीच बढ्दै गएको अविश्वास र बिग्रँदो सम्बन्धलाई उनीहरूले खतरनाक पक्ष औंल्याएका थिए,' बैठकमा सहभागी नेपाली अधिकारीले कान्तिपुरलाई बताए । राजनीतिक दलहरूबीचको सहमतिले मात्र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बैठकको ठहर थियो । अनमिनको म्याद थप्ने विषयमा गत असार २९ मा महासचिव बानले परिषदसमक्ष पेस गरेको प्रतिवेदनमा पछिल्लो राजनीतिक घटनाक्रम पश्चात दलहरूबीच बढ्दो दूरीले शान्ति प्रक्रिया रोकिएको उल्लेख गरेका थिए । 'आगामी छ महिनाभित्र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने सरकारको प्रतिबद्धताको कार्यान्वयन पक्षमा सुरक्षा परिषदले जोड दिएको छ,' राष्ट्रसंघका लागि नेपालका प्रतिनिधि मधुरमण आचार्यले भने । परिषदले नेपाल सरकारको प्रतिबद्धताअनुरूपको शान्ति प्रगतिबारे आगामी तीन महिनापछि प्रतिवेदन पेस गर्न महासचिव बानलाई निर्देशित गरेको छ ।

No comments: