News

Jul 27, 2009

एमालेका सभासदहरु आफ्नै पार्टीको बजेटप्रति असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ११ - नेकपा एमालेका सभासदहरु आफ्नै पार्टीका अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्ट रहेका छन् । सभासदहरुले असन्तुष्टी व्यक्त गर्दै संसदीय दलको बैठक समेत बहिष्कार गरेका छन् । अधिकांश सभासदहरुले बैठक बहिष्कार गरेपछि आइतबार संसदीय दलको बैठक हुन सकेन ।व्यवस्थापिका संसदमा आजबाट सुरु हुने विनियोजन बैठकमा सक्रिय सहभागिता जनाएर सहयोगका लागि आग्रह गर्न बैठक बोलाइएपनि सभासद्हरुले बजेट एमालेको हितमा नरहेको भन्दै बैठक बहिष्कार गरेका हुन् । अर्थमन्त्री सुरेन्द्र पाण्डेको अनुरोधमा पार्टी अध्यक्ष झलनाथ खनालले बोलाएको बैठकमा सभासदहरुले माओवादीको नीतिमा ल्याइएको बजेटमा समर्थन जनाउन नसकिने बताएका थिए । बजेट पूर्वाग्रही ढंगले ल्याइएको र एमालेको समेत कार्यक्रम समावेश नगरिएकाले समर्थन गर्न आफूहरुलाई अप्ठ्यारो पर्ने सभासदहरुको भनाइ थियो । उनीहरुले बैठकमा स्वंय प्रधानमन्त्री उपस्थित भएर प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए ।'बजेटप्रति केही सभासदहरुको असन्तुष्टी रहेको छ,' सचेतक भीमप्रसाद आचार्यल भने-'उहाँहरुले बैठक बहिष्कार गर्नु भएको होइन, प्रधानमन्त्रीको प्रतिवद्धता खोज्नु भएको हो ।' प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा व्यस्त भएका कारण संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने भएपछि आजको बैठक स्थगित गरिएको उनले बताए ।

No comments: