News

Jul 16, 2009

दाइजो पाए श्रीमतीलाई घर लैजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
घरबाट निकालेको एक वर्षपछि १५ साउनसम्ममा दाइजो पाएमा श्रीमतीलाई घर लैजाने सञ्जयले बताएका छन् । पीडित पक्षले पनि छोरीलाई पुनः घर पठाउन दाइजो दिन मञ्जुरी गरेको छ । छोरीको स्याहार हुन्छ र घरजम हुन्छ भनेर दाइजोबापत केटा पक्षले माग गरेको रकम दिन तयार भएको टिनाकी आमा ईश्वरावतीले बताइन् ।सञ्जयले पाँच वर्षअघि परम्पराअनुसार टिनालाई बिहे गर्न 'गौना' गरेका थिए । दुई वर्षअघि बिहे गरेका उनले केही महिनापछि दाइजो नल्याएको भन्दै श्रीमतीलाई मानसिक यातना दिन थालेका थिए । इलाका प्रहरी कार्यालय धकधईका प्रहरी निरीक्षक दिलबहादुर थापाका अनुसार सञ्जयले दाइजो नपाएको भन्दै श्रीमतीलाई यातना दिएको उजुरी परेको बताए । प्रहरीमा उजुरी परेपछि विवादबारे जाँचबुझ गरेको बताउने थापाले मिलापत्र गर्न सुझाव दिएको पनि बताए । तर, प्रहरीले दाइजो माग्दै यातना दिनेलाई कारबाही गर्न नखोजेपछि केही दिनअघि दाइजो दिन सहमत भएको टिनाका माइती पक्षले बताएका छन् ।रोजगारीका लागि विदेश जान चाहेका सञ्जयले माइतीबाट रकम ल्याउन दबाब दिए पनि टिनाले नल्याएको भन्दै एक वर्षअघि उनलाई घरबाट निकालेका थिए । त्यसलगत्तै पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । स्थानीय लक्ष्मण हरिजनका अनुसार सञ्जयले बेवास्ता गरेपछि र एकोहोरो रूपमा दाइजो मागेपछि पीडितले दलित गैरसरकारी संस्थामा पनि निवेदन दिएका थिए ।इलाका प्रहरी कार्यालय धकधईमा उजुरी दिएका पीडित पक्षले प्रहरीबाट खासै सहयोग नपाएको गुनासो गरेका छन् । तर, इप्रकाका प्रहरी निरीक्षक थापाले दाइजोको विषय भएकाले समाज बसेर मिलापत्र गर्न सुझाव दिएको र समाजले नै सो विवाद मिलाएको उनको दाबी छ ।

No comments: