News

Jul 14, 2009

दुई हजार नेपाली विद्यार्थी दार्जिलिङबाट फर्किए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम, २९ असार छुट्टै गोर्खाल्यान्ड माग गर्दै २० महिनादेखि आन्दोलनरत गोर्खा राष्ट्रिय जनमुक्ति मोर्चा (गोजमुमो) ले सोमबारदेखि अनिश्चितकालीन दार्जिलिङ आमहडताल सुरु गरेको छ । हडतालका कारण कलकारखाना, विद्यालय, यातायात र बजार ठप्प भएका छन् । अध्ययनका लागि देश/विदेशबाट दार्जिलिङ आएर बसेका विद्यार्थीलाई दुई दिनअघि नै गोजमुमोले छात्रावास खाली गर्न हि्वप जारी गरेपछि दुई हजार नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । दुई दिनको मात्र समय राखेर हि्वप जारी गरिएकाले ट्रेन र प्लेनको टिकट मिलाउन नसक्ने नेपाली विद्यार्थी भने छात्रावासमै छन् । विद्यालय प्रशासनले उनीहरूलाई स्थानीय अभिभावकसँग समेत भेट्ने अनुमति दिएको छैन ।छात्रावासमा रहेका विद्यार्थीको जिम्मेवारी विद्यालयले नै लिनुपर्ने माग गोजमुमोले गरेको छ । विद्यार्थी फर्किन थालेपछि कतिपय विद्यालय खाली भएका छन् । गोजमुमोका महासचिव रोशन गिरीले आन्दोलन सफल पार्न आफ्नो युवादस्ता गोर्खाल्यान्ड पर्सनल (जिएलपी) एघार हजारको संख्यामा परिचालन गर्ने बताएका छन् ।'गोर्खाल्यान्ड प्राप्ति नभएसम्म आन्दोलन निरन्तर चलिरहन्छ,' गिरीले भने । आन्दोलन सफल पार्न दार्जिलिङका ठाउँठाउँमा (जिएलपी) तैनाथ गरिएको उनले बताए । गोजमुमोले प्रहरीले लाठी बर्साए उनीहरूमाथि पनि लाठी नै बर्साउन आफ्ना जिएलपीलाई निर्देशन दिएको छ । संसद्मा गोर्खाल्यान्डको आवाज बुलन्द पार्न दबाब दिने भन्दै गोजमुमोका उपाध्यक्ष आरपी वाइबा, महासचिव रोशन गिरीसहितको चार सदस्यीय टोली सोमबार नै दिल्ली प्रस्थान गरेको छ ।

No comments: