News

Jul 31, 2009

माओवादी साइटमाथि चिनियाँ स्पाम साइटले आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १६- माओवादी नेताहरु आफ्नै व्यक्तिगत वेबसाइटमा रम्न थालेपछि पार्टीको आधिकारिक साइट cpnm.org अलपत्र परेको छ। साइटमाथि चिनियाँ स्पाम साइटले आक्रमण गरेर खुल्न नसक्ने बनाउँदा समेत पार्टी बेखबर छ। जनयुद्ध कालमा पार्टीका आधिकारिक वक्तव्य, सूचना र समाचारहरु सम्प्रेषण गरिने ६ वर्षदेखि सञ्चालनमा रहेको सो साइट माओवादी खुला राजनीतिमा आएदेखि नै निस्क्रिय छ। यहाँसम्म कि अहिले सो साइट कसको नियन्त्रणमा छ भन्ने तथ्यबाट पनि माओवादी नेतृत्व बेखबर छ।
माओवादीसम्वद्ध पत्रकार मनऋषि धिताल भन्छन्, 'युद्धकालमा पहाडका कुनाकन्दराबाट साइटका लागि सूचना पठाउने गरिन्थ्यो। कहाँबाट प्रकाशित हुन्छ भन्ने पत्तै हुन्नथियो। खुला राजनीतिमा आएपछि खासै महत्व दिन छाडियो।'मुख्य राजनीतिक दलका आधिकारिक वेबसाइटहरु छन् तर माओवादीमा भने पार्टीको साइटलाई बेवास्ता गर्दै नेताहरु निजी साइट बनाउन तल्लीन छन्।माओवादी नेता तथा पूर्वअर्थमन्त्री बाबुराम भट्टराईले सुरुमा निजी वेबसाइट बनाएका थिए। त्यसलगत्तै प्रधानमन्त्री हुँदाका बखत् माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि निजी वेबसाइट निर्माण गरे। हाल अर्का नेता दीनानाथ शर्मा र सीपी गजुरेल पनि निजी वेबसाइट बनाउँदैछन्।पार्टीको आधाकारिक वेबसाइटलाई बेवास्ता गर्दै आफ्नै साइट निर्माणमा जुटेका नेता सीपी गजुरेल र दीननाथ शर्मालाई यस बारेमा सोध्ने कोसिस गरिए पनि उनीहरु सम्पर्कमा आएनन्।नेताहरु निजी वेबसाइटको मोहमा फँसेका कारण एकता केन्द्रसितको एकीकरणपछि पार्टीको नाम एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) भइसके पनि र साइटमा पार्टी छाडेर गइसकेका मातृका यादवले प्रयोग गर्ने नेकपा (माओवादी) नै प्रयोग भइरहेको छ।त्यसैगरी एकीकरणपछि पार्टीको नाराबाट प्रचण्डपथ हटाइसकिएको छ तर साइटमा भने अझै त्यही पथ उल्लेख छ।माओवादीसम्वद्ध साइट कहाँबाट सञ्चालित छ भन्नेमा अनभिज्ञ रहे पनि विश्वका सबै संस्थागत इन्टरनेट साइटको तथ्याङ्क राख्ने पब्लिक इन्ट्रेस्ट रजिस्ट्रीका अनुसार साइटको सञ्चालनकर्ताका रुपमा बेल्जियमको नेपलिज पिपल्स प्रोग्रेसिभ फोरमका रामबहादुर गुरुङको नाम रहेको छ। साइट भने नूतन शर्माको नाममा दर्ता छ।

No comments: