News

Jul 23, 2009

२२ सचिव नियुक्तिलाई लिएर विवाद कांग्रेस र एमालेबीच

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रिक्त २२ सचिव नियुक्तिलाई लिएर बुधबार साँझ प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको प्रशासनिक समितिको बैठकमा कांग्रेस र एमालेबीच ‘तेरो-मेरो’ विवाद भएपछि कुनै पनि टुंगो लाग्न सकेन। बालुवाटारमा राति अबेरसम्म भएको बैठकमा रिक्त सचिव पदपूर्तिका सम्बन्धमा सहमति हुन नसकेपछि प्रशासनिक समितिको बैठक आज बिहीबार पुनः बस्ने गरी स्थगित भएको छ। बैठकपछि प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठले बताउनुभएअनुसार आज बस्ने बैठकले सचिव नियुक्तिसम्बन्धी निर्णयगर्नेछ।लोकसेवा आयोगको बढुवा समितिले सचिव पदका लागि ६६ जनाको नाम सिफारिस गरेकोमा तीमध्ये २२ जना अहिले छान्नुपर्ने अवस्था रहेको छ। ‘अहिले प्रारम्भिक छलफल भयो, बिहीबार सबै कुरा टुंगिन्छ’ -मन्त्री श्रेष्ठले भन्नुभयो।कांग्रेसका तर्फाट बैठकमा प्रतिनिधित्व गर्नुभएका संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालले चाहिँ खासै विवाद नभएको बताउनुभयो। अर्का मन्त्री डा. प्रकाशशरण महतको कथन थियो- ‘प्रधानमन्त्रीले नै थप छलफलपछि बिहीबार कुरा टुंग्याउने भन्नुभएकाले आज (बुधबार) टुंगो नलागेको हो।’

No comments: