News

Jul 30, 2009

राजिनामा नदिए मन्त्रिपरिषद्‌बाट हटाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १३ युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीले राष्ट्रिय खेलकुद परिषद (राखेप)मा रिक्त रहेको सदस्यसचिव पदपूर्ति प्रक्रिया यो साताभित्रै सुरु हुने बताएका छन्। गृह जिल्ला महोत्तरी तथा धनुषा भ्रमणमा रहेका मन्त्री नेपालीले मन्त्रिपरिषद्को तर्फबाट नियुक्ति लिएर राखेप बोर्डमा रहेका सबै पदाधिकारी र सदस्यलाई राजीनामा गर्न एक साताको समय दिएको बताए। मन्त्रिपरिषद्को निर्णयबाट राखेपमा नियुक्ति लिनेमा सदस्यसचिव जीवनराम श्रेष्ठका साथै उपाध्यक्ष सीताराम मास्के, कोषाध्यक्ष अजर मानन्धर तथा सदस्यहरु वीरेन्द्र यादव, निरन खड्का र पुरेन्द्रविक्रम लाखे हुन्।नागरिकसँगको टेलिफोन वार्तामा मन्त्री नेपालीले बुधबार काठमाडौं फर्किएलगत्तै नियुक्ति प्रक्रिया थाल्ने बताए। सदस्यसचिवमा कसलाई नियुक्त गर्ने भन्ने निर्णय भइनसकेको उनले प्रस्ट पारे। तथापि उनले राखेपको अब बन्ने बोर्डमा महिला मधेसी दलित आदिवासी जनजातिलगायत सबैको समावेशी हुने बताए।नेकपा एमालेका तर्फबाट राखेपमा नियुक्ति लिएका सदस्यसचिव श्रेष्ठले बिहीबार पदबाट राजीनामा दिएका थिए। सरकार परिवर्तनका क्रममा तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाको भागमा युवा तथा खेलकुद मन्त्रालय परेपछि उनले राजिनामा दिएका हुन्। राखेप बोर्डमा रहेका अन्यले भने अझै राजीनामा दिएका छैनन्। यद्यपि एमालेका तर्फबाट नियुक्ति पाएका उपाध्यक्ष मास्के तथा सदस्यद्वय लाखे र यादवले राजीनामा दिने बताइसकेका छन्।मन्त्री नेपालीले एक साताभित्र अन्यले राजीनामा नगरे मन्त्रिपरिषद्को निर्णयबाटै उनीहरुलाई हटाउने बताए। "मैले उहाँहरु सबैलाई राजीनामा गर्न एक साताको समय दिएको छु । मलाई लाग्छ नैतिकताको आधारमा उहाँहरुले राजीनामा दिनुहुन्छ । अन्यथा मैले मन्त्रिपरिषदबाटै निर्णय गरेर नयाँ व्यक्ति ल्याउनुपर्छ" - मन्त्री नेपालीले भने - "सबै काम सहमतिबाटै होस् भन्ने मेरो चाहना छ। जसरी जीवनरामजीले हार्दिकताका साथ छोड्नुभयो त्यसै गरी अरुले पनि परिवर्तनलाई आत्मसाथ गरेर छोडून् भन्ने मेरो चाहना हो।" राखेपको पछिल्लो कार्यकालमा पास भएको नयाँ ऐनअनुसार अब बन्ने राखेप बोर्डमा मन्त्रिपरिषदले तीन महिलासहित ११ जनाको नियुक्ति गर्नेछ । नियुक्ति पाउने सबैको उमेर ३५ वर्ष पूरा भएको हुनुपर्नेछ।मन्त्री नेपालीले अहिले राखेप बोर्डमा भएकाले पनि फेरि बन्ने बोर्डमा ठाउँ पाउन सक्ने बताए । "अहिले भएकाले फेरि मौका पाउन सक्छन् तर त्यसका लागि उनीहरुले अहिले सहयोगी भूमिका निर्वाह गर्नुपर् यो"- उनलॆ राखेपलाई नेतृत्वविहीन अवस्थाबाट मुक्ति दिलाउन आफू पूर्ण रुपमा लाग्ने र चाँडै नयाँ नेतृत्व ल्याउने बताए । शनिबारबाट थाइल्यान्डको बैंककमा हुने पहिलो एसियाली मास्रल आर्टस गेम्समा जाने पूर्वनिर्धारित कार्यक्रमलाई पछि सारेर भए पनि पहिला राखेप बोर्ड गठनमा लाग्ने मन्त्री नेपालीले विश्वास दिलाए । उनले भने - "अहिले नेपाली खेलकुदमा महत्वपूर्ण काम भनेको बोर्ड गठन हो । त्यसैले म पहिला यही काम फत्ते गर्छु।"

No comments: