News

Jul 27, 2009

बेलायती अभिनेत्री लुम्लेको नागरिक अभिनन्दन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १२- 'बहादुरभन्दा बहादुर दानीभन्दा दानी कुनै देशले यसअघि पहिलो विश्वासिलो साथी पाएको थिएन' गोर्खा सैनिकको स्मृति सालिकमा यस्तो वाक्य पढेर बेलायती अभिनेत्री जोआना लुम्लेका आँखा नरसाइरहन सकेनन्। भावुक हुँदै उनले पुष्पगुच्छा चढाइन्। अनि टक्क उभिएर गोर्खाको सम्झनामा मौनधारणसमेत गरिन्।'दुई सय वर्षदेखि बेलायती जनताका लागि जीवन दिँदै आएका वीर गोर्खा बहादुरभन्दा बहादुर र दानीभन्दा दानी हुन्' लैनचौरस्थित बेलायती दूतावास परिसरमा रहेको सालिक अगाडि लुम्लेले भनिन् 'म तिनै गोर्खाको झन्डामा हुर्किएकी हुँ।' सोमबार राजधानीका विभिन्न कार्यक्रममा लुम्लेले नेपाललाई आफ्नो घर भएको बताइन्। 'आज म तपाईँहरुका अगाडि गोर्खालीको छोरी भएर बोल्न चाहन्छु' उनले भनिन् 'दोस्रो विश्वयुद्धको सेरोफेरोमा मेरा पिताले सिंगापुरदेखि बर्मासम्म ३० वर्षजति गोर्खासँगै बिताए।' उनले गोर्खा इमान्दार हितैषी र बहादुर हुन्छन् भनने आपुना दिवंगत पिताले भनाइ समेत स्मरण गरिन्। 'गोर्खा न्यायिक अभियानकारी जोआना लुम्लेसहितको टोलीलाई स्वागत गर्न पाउँदा निकै खुसी छु' बेलायती राजदूत एन्ड्र्यु हलले संक्षिप्त प्रतिक्रिया दिए। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले सोमबार दिउँसो लुम्लेसहित बेलायती लिबरल डेमोक्र्याटिक पार्टीका नेता पिटर क्यारोल, काउन्सिलर धन गुरुङ, गोर्खा वकिल मार्टिन होवेलाई नागरिक अभिनन्दन गरेको थियो।अभिनन्दन ग्रहण गरेपछि लुम्लेले खुकुरी क्रस भएको नेपाली टोपी पहिरिन्। राष्ट्रिय सभागृहमा खचाखच भरिएका गोर्खा परिवारलाई मुठी उचाल्दै सलाम ठोकिन्। अनि चिच्चाइन् 'आयो गोर्खाली!' काउन्सिलर गुरुङले गोर्खा अभियानमा लागेका बेलायती नागरिकको नेपाल भ्रमणको नामकरण नै 'आयो गोर्खाली' भएको बताए। उनले भने '१८ वर्षे आन्दोलन बल्ल न्याय पाएको तीतो उदाहरण सबैले मनन गर्नुपर्छ।' म्ले टोलीले सोमबार राष्ट्रपति रामवरण यादव प्रधानमन्त्री माधवकुमार नेपाल र परराष्ट्रमन्त्री सुजाता कोइरालासँग भेटघाट गरेको थियो। र बेलायती टोली रेजिमेन्टल एसोसिएसन अफ नेपाल (आरएएन)को सम्मान कार्यक्रममा पनि सरिक भयो। राष्ट्रपति यादवले नेपाली अखबारमा लुम्लेको चर्चाले आफू लोभिएको बताए। 'लुम्ले नेपाली छोरी हुन् यस भ्रमणलाई अन्तिम नबनाउनुहोला' राष्ट्रपति यादवले भने 'गोर्खालीको न्यायका लागि सहयोग गरेकोमा नेपाली जनताका तर्फबाट धन्यवाद दिन्छु।' सन् १९४४ मा बर्मामा जापानीसँगको युद्ध गर्दा उनका पिता मेजर जेम्स लुम्लेलाई राइफलम्यान तुलबहादुर पुनले बचाएका थिए। भिक्टोरिया क्रम विजेता पुनलाई बेलायत सरकारले दुई वर्षअघि आवासीय भिसा दिन आनीकानी गरेपछि लुम्ले गोर्खा न्यायिक आन्दोलनमा होमिएकी थिइन्। जोआनाको सक्रिय सहभागीपछि बेलायतबासी र अन्तर्राष्ट्रिय मिडियाको समर्थन मिलेको गोर्खा परिवारको विश्वास छ। बेलायतले गत २१ मेमा सबै गोर्खालाई आवासीय सुविधा दिने घोषणा गरेको थियो।'गोर्खा परिवारको पीरमर्का बुझ्न लुम्ले नेपाल आउनुभएको हो' गेसो सभापति पदमबहादुर गुरुङले नागरिकसित भने 'बेलायत फर्किएपछि उहाँले गोर्खालीको यथार्थ चित्रण गर्नुहुनेछ।' साताव्यापी भ्रमणमा नेपाल आएकी लुम्लेले मंगलबार दमक, धरान गई गोर्खा परिवारसँग भेट्ने कार्यक्रम छ। बुधबार र बिहीबार उनले पोखरा आसपासका गोर्खा परिवारको दुःखसुख बुझ्ने छिन्। बौद्धमार्गी भएकाले उनी लुम्बिनी पनि जाने कार्यक्रम छ।

No comments: