News

Jul 11, 2009

सरकारको नीति तथा कार्यक्रम माथि छलफल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २८ - व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ । केही बेर ढिलो गरी सुरु भएको संसद बैठकमा बोल्दै एकीकृत माओवादीका सभासद डा.बाबुराम भट्टराईले असंवैधनिक सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीको समर्थन नहुने बताएका छन् । नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागिता जनाउनु सरकारलाई बैधानिकता प्रदान गर्नु हो भन्दै उनले सैनिक सर्वोच्चताको आडमा बनेको सरकारले पूर्ववर्ती सरकारको निर्णय उल्ट्याएर पूर्व राजा ज्ञानेन्द्रले गरेको भन्दा असंवैधानिक काम गरेको दावी गरे । उनले राष्ट्रपतिलाई अगाडि सारेर काँग्रेस र एमालेले मुलुकमा सैनिक सर्वोच्चता लाद्न खोजेका आरोप लगाए । माओवादीले नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागिता नजनाउने यसअघि नै निर्णय लिइसकेको छ । सभासद भट्टराईले बोले लगत्तै माओवादी सभासदहरु संसदबाट बाहिरिने कार्यक्रम छ ।सदनको काम कारवाही अवरुद्ध नगर्न मधेशी जनअधिकार फोरम सहमत भएपछि नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो । छलफलपछि आजै नीति तथा कार्यक्रम पारित गरिने छ । संसदीय दलको विवादका कारण फोरम संस्थापन पक्षले सदन चल्न नदिने अडान लिएपछि शनिबार हुने भनिएको छलफल हुन सकेको थिएन । सभामुख सुवास नेम्वाङको पहलमा भएको वार्तामा फोरम गच्छदार समूहले संसदीय दलको कार्यालय छाड्ने सहमति भएपछि फोरम संस्थापन पक्ष सदन अवरुद्ध नगर्ने जनाएको हो । राष्ट्रपति डा.रामवरण यादवले बिहीबार सदनमा प्रस्तुत गरेका सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्न शनिबार र आइतबार गरी २० घण्टा समय छुट्याएकोमा शनिबार संसद बैठक बस्न नसकेपछि आज एकदिन मात्र छलफल हुन लागेको छ ।

No comments: