News

Jul 5, 2010

डिएगो म्याराडोनाले पद त्याग्ने मनसाय बनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोहानसबर्ग/ विश्वकप फुटबलको क्वाटरफाइनलमा जर्मनीबाट ४-० को हार बेहोरेपछि अर्जेन्टिनी प्रशिक्षक डिएगो म्याराडोनाले पद त्याग्ने मनसाय बनाएका छन् । केपटाउनमा अकल्पनीय हार आत्मसात् गर्नुअघि अर्जेन्टिनाले चारै खेलमा शत प्रतिशत नतिजा निकालेको थियो । जर्मनी प्रशिक्षक जोचिम लोजका युवा स्टार थोमास मुलर तथा मिरोस्लाभ क्लोजको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना आफ्नो पुरानो प्रतिद्वन्द्वीसँग घुँडा टेकेको थियो ।
टोलीलाई क्वाटरफाइनलको यात्रा गराउँदासम्म समेत म्याराडोना आलोचनाका पात्र बने । दोस्रो चरणमा मेक्सिकोविरुद्ध जित हात पार्दा म्याराडोनाको चौतर्फी विरोध भएको थियो । व्यावसायिक फुटबल जीवनकै एक नम्बरको आलोचक ब्राजिलियन महान् खेलाडी पेलेले समेत म्याराडोना पैसाका लागि अर्जेन्टिनी फुटबल सम्हाल्न आएको बताएका थिए ।
सन् २००८ को नोभेम्बरमा म्याराडोना अर्जेन्टिनाको राष्ट्रिय टोली प्रशिक्षकमा चयन भएका थिए । 'दक्षिण अफ्रिकाबाट भोलि (सोमबार) प्रस्थान गर्दै छु,' सन् १९८६ पछि उपाधि दिलाउने अभियान टुटेपछि म्याराडोनाले भने, 'घरमा गएर विश्लेषण गर्छु । हामीले कहाँनेर गल्ती गर्न पुगेछौँ ।'
अर्जेन्टिनी जनतासमक्ष दिइएको वाचाअनुसार आफूले काम गर्न नसक्दा अत्यन्तै दुःखी भएको बताउँदै उनले भने, 'मलाई अहिले सबैभन्दा डर अर्जेन्टिनी जनतासँग छ । समस्त घरेलु समर्थकसँग माफी माग्छु । र, सोमबार घरमा पुग्दा उनीहरूको कस्तो प्रतिक्रिया हुनेछ ।' जर्मनीसँग फराकिलो अन्तरले पराजित भइन्छ भनेर कहिले नसोचेको उनले बताए ।
'यति ठूलो अन्तरमा अर्जेन्टिना हार्छ भनेर सोचेकै थिएन,' उनले भने, 'मेरो खेल जीवनमा यसभन्दा दुःखको क्षण कहिले आएन ।' निराश हुँदै बाहिरिने क्रममा जर्मनी समर्थकबाट प्रयोग भएको शब्दबाट आफू झनै निराश भएको उनले बताएका छन् । शंकी तथा रिसाहा म्याराडोनाले ती जर्मनी समर्थकसँग केहीबेर वादविवादसमेत गरेका थिए ।
यता टोलीका डिफेन्डर ग्राबिएल हेन्जले म्याराडोनाले तत्काल पद त्याग्न नहुने धारणा अगाडि राखेका छन् । 'म्याराडोनाले अहिले निर्णय लिनुहुँदैन,' हेन्जले भने, 'टोली निर्माणका लागि उनले धेरै योगदान दिएका छन् । महान् खेलाडीको उपस्थितिमा खेलाडीको आत्मबल उच्च हुन्छ ।'

No comments: