लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोहानसवर्ग- पाराग्वेलाई १-० ले पराजित गर्दै युरो च्याम्पियन स्पेन विश्वकपको सेमी फाइनलमा प्रवेश गर्न सफल भएको छ। सेमी फाइनलमा उसको भिडन्त जर्मनीसँग हुनेछ। क्वार्टर फाइनलको यो खेल दुई वटा पेनाल्टी गोलमा परिणत गर्न असफल भएको खेलका रुपमा पनि लामो समयसम्म स्मरण गरिनेछ। ५९ औँ मिनेटमा पाएको पेनाल्टीलाई पाराग्वेका खेलाडी कार्डाजोले गोलमा परिणत गर्न सकेनन्। उनको पेनाल्टी स्पेनी गोलकिपर क्यासिलासले रोके। त्यसको तीन मिनेटपछि स्पेनले पाएको पेनाल्टीलाई पनि अलोन्सोले गोलमा परिणत गर्न सकेनन्। उनको प्रहार पोस्ट भित्र प्रवेश गरे पनि 'इन्क्रोचमेन्ट' को कारण देखाउँदै रेफ्रीले मान्यता दिएनन्। स्पेनले सेमी फाइनलमा स्थान सुनिश्चित बनाउनका लागि जोहानसवर्गको इलिस पार्कमा भएको खेलमा ८३ औँ मिनेटसम्म पर्खनु पर्यो। डेभिड भिल्लाले गरेको एक मात्र गोल खेलको निर्णायक हुन पुगेको थियो। भिल्लाको योसहित यस प्रतियोगितामा पाँच गोल भएको छ र उनी बढी गोल गर्नेले पाउने गोल्डन बुटको नजिक पुगेका छन्।
No comments:
Post a Comment