News

Jul 6, 2010

सेनाविरुद्धको जाहेरी दर्ता गर्न परमादेश जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, असार २२- पुनरावेदन अदालत सुर्खेतले जिल्ला प्रहरी कार्यालयका नाममा सेनाविरुद्धको जाहेरी दर्ता गर्न परमादेश जारी गरेको छ। साटाखानी- ५ की देवीसरा पौडेलले दिएको निवेदन प्रहरी कार्यालयमा दर्ता गर्न अदालतले मंगलबार यस्तो आदेश दिएको हो। देवीसरा आफ्ना श्रीमान् भुवानीप्रसाद पौडेलको हत्यामा संलग्न भएको अभियोगसहित तत्कालीन शाही नेपाली सेनाका मध्यपश्चिम आर्टिलरी गणमा कार्यरत सहसेनानी शरद लामिछाने र जमदार रामबहादुर महतलगायत १८ जनाविरुद्ध किटानी जाहेरी लिएर प्रहरी कार्यालय पुगेकी थिइन्। पहिलोपल्ट गत वर्ष पुस २५ गते जाहेरी लिएर कार्यालय पुगेकी उनलाई प्रहरीले फर्काएपछि तीनपटक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। दुवै कार्यालयले जाहेरी लिन अस्वीकार गरेपछि देवीसरा गत जेठ १९ गते अदालत पुगेकी थिइन्।
न्यायाधीशद्वय विश्वनाथ जोशी र निर्मलकुमार ढुंगानाको इजलाशले परमादेश जारी गरेपछि देवीसराले न्याय पाउने आशा व्यक्त गरिन्। 'मेरो श्रीमान्को हत्या गर्नेहरु दोषी र निर्दोष जे भए पनि उनीहरुमाथि छानबिन हुनुपर्छ भन्ने मेरो माग हो, अदालतको आदेशबाट त्यो आशा जगाएको छ,' उनले भनिन्।माओवादीको आशंकामा देवीसराका श्रीमान भुवानीप्रादलाई २०५९ जेठ २ गते सेनाले हत्या गरेको थियो।देवीसरालाई एड्भोकेसी फोरमले कानुनी सहयोग गरिरहेको छ। फोरमका कानुनी अधिकृत अधिवक्ता नन्द भण्डारीले अदालतको आदेशबमोजिम प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान थाल्नुपर्ने बताए।

No comments: