News

Jul 6, 2010

कवि किराँती भोगेन एक्लेको कृति 'विरुद्धमा' सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
४ जुलाई २०१०,काउलूनको जोर्डन स्थित सुनकोशी कन्सल्टेन्सीको सभाहलमा हङकङेली कवि किराँती भोगेन एक्लेको कविताकृति 'विरुद्धमा' सार्वजनिक गरिएको छ । सोही अवसरमा हङकङमा कविता एक दशक भएको उपलक्षयमा कवि गोष्ठी आयोजना गरीएको थियो । सृजनशील सहित्य समाज हङकङद्वारा १२ औं कृतिको रुपमा प्रकाशित सो कृतिको विमोचन कार्यक्रमको आयोजना पनि सृसासले गरेको थियो । कार्यक्रमका अध्यक्षता संस्थाका अध्यक्ष कवि हाङयुग अज्ञातले गर्नु भएको थियो भने प्रमुख अतिथिमा वयोवृद्ध साहित्यकार गणेश बहादुर राई र अथितिहरूमा कृतिकार किराँती भोगेन एक्ले, साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फे, आदिवासी गीतकार समाजका अध्यक्ष प्रदिप कन्दङ्वा, अनुवादक तथा लेखक किन्दर राई, जनजाति साहित्य समूह हङकङका अध्यक्ष भूपेन्द चेम्जोङ, जनजाति महासंघ हङकङका अध्यक्ष एम बि थापा, नेपाली साहित्य परिषद हङकङका अमोद राई र खोटाङ समाज हङकङका सचिव सुवास राई रहनु भएको थियो ।
अतिथि आसनग्रहण पछि प्रमुख अतिथिबाट कृति विमोचन गरिएको थियो । विमोचित कृतिकोबारेमा बोल्ने क्रममा कृतिकार भोगेन एक्लेले १२ वर्षको हङकङ बसाईमा भोगिएका अनुभूति र स्वदेशको नोष्टालजीयालाई नै आधार बनाएर कविता लेखेको कुरा सुनाउँदै हङकङेली नेपाली कविताको एक दशकको अवसरमा सृजनशील साहित्य समाज हङकङको संयोजकत्वमा विविध साहित्य कार्यक्रमहरूका साथ हङकङेली कविताको एक दशक मानाउने र नेपाल प्रज्ञा प्रतिष्ठानसँग समन्वय गरी साहित्यिक गतिविधिलाई अगाडि बढाउने योजना रहेको कुरा बताउनु भयो । मन्तव्यको क्रममा गीतकार समाज हङकङका अध्यक्ष तथा कथाकार प्रदिप कन्दङ्वाले कृतिको बारेमा छोटो मौखिक समिक्षा गर्दै कृति भित्र समेटीएका कविताहरू मानवीय संवेदनासँग ओतप्रोत भएको तर कविताको शैल प्रायः जसो कवितामा दोहोरिको महसुस भएको टिप्पणी गर्नुभयो । त्यस्तै गरी कृति भित्रका केही कवितालाई अग्रेजी र चिनिया भाषामा अनुवाद गरिएको र केही प्रख्यात चिनिया कविका कवितालाई नेपाली र अंग्रेजीमा अनुवाद गरेर कृतिमा समेटिएको हुनाले कविता अनुवादक किन्दर राईले अनुवादित कविताको बारेमा बोल्दै अनुवाद गर्दाको अप्ठ्याराहरू र रोचक पक्षको बारेमा जानकारी गराउँदै आफ्नो कार्यप्रति गौरव लागेको कुरा भएको थियो । प्रमुख अथिति गणेश बहादुर राईले विदेशमा बसेर पनि साहित्य सृजना गरेर नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएकोमा धन्यवाद दिनु भएको थियो । सवै वक्ताहरूले वक्तव्यको अन्त्यमा आफ्नो कविता वाचन गरेका थिए ।
कार्यक्रमा उपस्थित कविहरू- भूपेन्द्र चेम्जोङ 'मुक्कुम', टंक साम्वहाम्फे, पिताम्वर राई, मोहन गुरुङ, एम वि थापा, डि वि पालुङ्वा, विमल राई लगायतले विमोचित कृतिकार भोगेन एक्लेलाई वधाई दिदै आफ्नो कविता वाचन गरेका थिए । विमोचन तथा कविगोष्ठि एकै चरणमा समेटिएको उक्त कार्यक्रमलाई सृजनशील साहित्य समाजका सचिव नरेश सुनुवारले सन्चालन गरेका थिए । सन्चालकले आफ्नो कविता वाचन पछि कार्यक्रमको अध्यक्षता गरिरहनु भएका कवि हाङयुग अज्ञातलाई माइक्रोफोन हस्तारण गरेपछि आफ्नो छोटो मन्तव्यमा उपस्थित सवैलाई धन्वाद दिदै कविता बाचन गर्दै सभा विसर्जन गर्नु भएको थियो ।

No comments: