लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २४,सरकारको नेतृत्वका लागि माओवादीलाई मधेसवादी दलहरुले मधेसको मुद्दा सम्बोधन गर्नुपर्ने शर्त राखेका छन्। सत्तारुढ तीन मधेसवादी दलको मोर्चासित सिंहदरबारस्थित तमलोपाको कार्यालयमा आज बिहान भएको बैठकमा माओवादीले मधेसवादी दलहरुलाई आफ्नो सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए। सत्तारुढ तीन मधेसवादी दल मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावनाको मोर्चाले राष्ट्रिय पार्टीहरूलाई सहमतीय राजनीतिको दबाब दिन हिजोदेखि दलहरूसँग वार्ता थालेको हो। मोर्चाले बुधबार नेपाली कांग्रेससँग वार्ता गरेको थियो। मधेसवादी दलको मोर्चाबन्दीले सरकार निर्माणमा महत्व राख्छ। मोर्चामा आबद्ध तीन दलसँग संविधानसभामा ५६ सांसद छन्।मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) संसदीय दलको कार्यालयमा भएको वार्तामा मोर्चाले कांग्रेसका नेतासँग राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहमति जुटाउन आग्रह गरेको थियो। मधेसवादी दलले लडाकु समायोजन र व्यवस्थापन, वाइसिएल अर्धसैन्यसंरचना विघटन र कब्जा सम्पत्ति फिर्तालगायत प्रतिबद्धता कार्यान्वयनमा माओवादी संवेदनशील नभए राष्ट्रिय सहमतिको प्रक्रिया अवरुद्ध हुने निर्णय गरेको जानकारी कांग्रेसलाई गराएको थियो।वार्तामा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका महतोलगायत नेता थिए। कांग्रेसका तर्फबाट उपसभापतिद्वय रामचन्द्र पौडेल, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र कृष्ण सिटौला सहभागी थिए। वार्तामा मधेसवादी दलले तयार पारेको दस्तावेज बुझाएको र सहमतिको राजनीतिमा मधेसवादी दललाई नजरअन्दाज नगर्न सुझाएको वार्तामा सहभागी श्रेष्ठले बताए। श्रेष्ठले भने, 'सहमतिको सरकार बनाउने सम्बन्धमा उनीहरूले पारित दस्तावेज पेस गरे।'
No comments:
Post a Comment