लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ, फागुन १९ (एजेन्सी)- उत्तर कोरियाले युरेनियम प्रवर्द्धन र परमाणु तथा लामो दुरीको क्षेप्यास्त्र परीक्षण नगर्ने घोषणा गरेको छ। चीनमा गत साता अमेरिकासँग वार्ता गरेको उत्तर कोरियाले बुधबार विज्ञप्ति जारी गर्दै परमाणु कार्यक्रम रोक्ने सहमति भएको खुलासा गरेको हो। अमेरिकासँग सम्बन्ध सुधार र विश्वास अभिवृद्धिको उद्देश्यले 'यस्तो कदम' चालिएको उसले जनाएको छ। दुवै देशबीच वार्ता निरन्तर अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ। अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाली कदमको अनुगमन गर्न राष्ट्रसंघीय अनुगमनकर्तालाई अनुमति दिने सहमति भएको जनाएको छ। परमाणु कार्यक्रम रोकेबापत अमेरिकाले उत्तर कोरियालाई दुई लाख ४० हजार टन खाद्यान्न सहयोग उपलब्ध गराउने जनाएको छ। गर्भवती तथा बालबालिकालाई लक्षित गरी खाद्यान्न सहयोग गर्न लागेको अमेरिकी अधिकारीहरूले बताएका छन्। ९० को दशकदेखि उत्तर कोरियामा खाद्यान्न अभाव छ। जनतालाई खुवाउन विदेशी सहयोगको भर पर्नुपर्छ। अमेरिकाले सन् २००९ यता उत्तर कोरियालाई खाद्यान्न सहयोग गरेको छैन। किम जोङ इलको निधनपछि उनका कान्छा छोरा किम जोङ उनले सत्ता सम्हालेको दुई महिनापछि अमेरिकासँग सम्बन्ध सुधारमा ठोस पहल भएको हो। उत्तर कोरियाली घोषणाको विश्वभरबाट स्वागत भएको छ। ह्वाइटहाउसका प्रवक्ताले उत्तरको निर्णयलाई कोरियाली प्रायद्वीपलाई परमाणु निशस्त्रीकरणतर्फको 'पहिलो सकारात्मक कदम' भनेका छन्। 'कोरियाली प्रायद्वीपलाई शान्तिपूर्ण बनाउन ठोस पहलमध्ये यो पहिलो सकारात्मक कदम हो,' प्रवक्ता जय कर्नीले भने, 'यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक छ। हामी आवश्यक अवधारणा बनाउने छौं।'चीनले अमेरिका-उत्तर कोरिया सम्बन्ध सुधारको स्वागत गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लेइले विज्ञप्तिमार्फत् भनेका छन्, 'चीन ६ देशसम्मिलित वार्ता प्रक्रिया अघि बढाउन सम्बद्ध सबै पक्षसँग काम गर्न चाहन्छ।'रुसी विदेश मन्त्रालयले भने धेरै पक्ष समान उद्देश्यका लागि एक भए, कठिन परिस्थितिमा पनि सर्वस्वीकार्य अवस्थामा सिर्जना गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा उत्तर कोरियाली कदमलाई व्याख्या गरेको छ। जापानी विदेशमन्त्री कोइचिरो गेम्बाले सहमति कार्यान्वयनमा जोड दिएका छन्। 'हाम्रो उद्देश्य परिवर्तन भएको छैन,' उनले भने, 'परमाणुसँग सम्बद्ध सबै केन्द्र बन्द हुनुपर्छ।'दक्षिण कोरियाले सहमतिले अमेरिकासँगको निकट सहकार्यको प्रतिनिधित्व गरेको जनाएको छ। छ देशीय वार्ताको आशा पछिल्लो घोषणासँगै उत्तर कोरियाली परमाणु कार्यक्रमबारे सन् २००९ बाट बन्द भएको ६ देशीय वार्ताको ढोका खोल्ने आशा विश्लेषकहरूले लिएका छन्। सन् २००५ मा सहयोग तथा राजनीतिक सहुलियतको साटो उत्तर कोरियाले परमाणु कार्यक्रम त्याग्नेबारे परमाणु कार्यक्रमसँग चासो राख्ने ६ देश सम्मिलित वार्ता सहमति भएको थियो। वार्तामा दुवै कोरिया, अमेरिका, चीन, रुस र जापान सहभागी थिए। यो वार्ता सन् २००९ मा अवरुद्ध भएको थियो।
No comments:
Post a Comment