News

Mar 24, 2010

पूर्वराजा ज्ञानेन्द्रको अन्तर्वार्ताको पूर्णअंश

राजतन्त्र समाप्त भयो भन्नु काल्पनिक कुरा मात्रः पूर्वराजा ज्ञानेन्द्र
अहिले देश जुन मोडबाट गुज्रिरहेको छ, यतिखेर के महसुस गरिरहनु भएको छ ?
बहुमत जनताले के खोज्छन् त्यो नै हाम्रो चाहना हो । मेरो पनि त्यही हो । अहिले देशमा सर्वसधारणको जीउ धनको सुरक्षाको खाँचो छ भन्ने मलाई लागेको छ । देशमा शान्ति होस् नेपाली जनताले के खोजेका छन् त्यही होस् । सबैलाई अटाउने ठाउँ होस् र हाम्रा पूर्खाहरुले जसरी यो देशलाई एकताको सुत्रमा बाँधेका थिए त्यो माला नचुँडियोस् भन्ने हाम्रो चाहना छ ।
राजतन्त्रको अन्त्यपछि देश कतातिर जाँदै गरेको अनुभूति हुन्छ, दण्डहीनता र अराजकता बढेको छ, दलहरु सहमतिमा आउन सकेका छैनन्, हालै मात्र शिखरपुरुष गिरिजाबाबुको निधन भएको छ, यस्तो अबस्थामा नेपालको राजनीति कतातिर जाँदैछ भन्ने लाग्छ ?
यो कुरा मैले भन्नु भन्दा पनि सर्वसधारणहरुलाई सोध्नु र उहाँहरुबाट यसको जवाफ लिनु फाइदा जनक हुन्छ ।
नेपाली जनताले पुनः राजतन्त्र पुनःस्थापित गर्न चाहे भने तपाईं तयार हुनुहुन्छ ?
यो 'हाइपोथेटिकल' कुरा भयो । राजतन्त्रको विषयमा होस् वा अन्य कुनै पनि राष्ट्रिय सवालमा होस् । जनताको विचार, भनाइ, जनता जनार्दन नै हुन्छन् । त्यसैले सबैले त्यो मान्नै पर्ने हुन्छ ।
पूर्व राजा ज्ञानेन्द्र बाहिर बसेर शक्तिको राजनीति गरिरहेको छ भनेर भन्नेहरु पनि छन् । तिनीहरुलाई के जवाफ दिनु हुन्छ ?
त्यसो भए त धेरै अगाडि धेरै कुरा भइ सक्थ्यो । त्यस्तो हाम्रो बिचारै छैन । नत त्यस्तो नियत नै छ । देशमा अमनचयन र शान्ति होस् भनेर नै केही नमानेर हामीले छाडेका हौं । नेपाली जनताले त्यसको मान्यता, मुल्य बुझेका छन् जस्तो लाग्छ । जनतालाई छाड्नुपर्छ यस्तो प्रश्न ।
तपाईंका दिन कसरी वितिरेहेको छ ?
के भन्ने ? जंगलमा बस्दाखेरी फाइदा छ । शान्ति पनि हुन्छ । विचार गर्ने मौका पनि पाउँछ । तर, अलि चिन्ता चाँही राष्ट्रकै छ । राष्ट्रिय एकता कै छ । सर्वसाधारणले राम्रोसँग, सुखीसँग बस्न पाओस् भन्ने छ । मेरो दिनचर्या पनि यही छ ।
नेपाली जनताले कुनै वेला निक्कै सम्मान गथ्र्यौ राजतन्त्रलाई, भगवानकै रुपमा मान्थे । तर, यतिवेला समय र परिस्थिति त्यस्तो रहेन । एक जना आम नागरिक जसरी नै हामीसँग आउनु भयो, एक जना शक्तिशाली राजा र अहिलेको अवस्थाबीच के भिन्नता पाउनु हुन्छ ?
एक दुईवटा भम्र चिर्नु छ । कहिल्यै पनि शक्ति खोजेको छैन राजाहरुले । कहिल्यै पनि कुनै पनि राजाले म देउता हो भनेर बोलेको पनि छैन । त्यसैले त्यो त जनताको माया र विश्वासले भएको कुरा हो जस्तो लाग्छ । मलाई व्यक्तिगत रुपमा कहिल्यै पनि जनताको माझमा अप्ठ्यारो महसुस भएन । पहिले पनि थिएन, अहिले पनि छैन । आज पनि भनौं हामी जानकीको नगरी जनकपुरमा आइ रामनवमीको दिनमा जानकी मन्दिरमा दर्शन गर्न पाउँदा जुन स्नेह, माया, ममता सर्वसाधारणबाट पाएँ, यसको मैले जवाफै दिन सक्दिन । त्यो त, जे जति, जसो बुझेको छु मैले भित्र राखेको छु । मैले बुझेको छु । भएजति जनतालाई मैले धन्यवाद दिनु पर्छ । अरु के भनौं ।
नारायणहिटी काण्ड र माघ १९ को 'कु' पछि राजतन्त्रलाई नेपाली जनताले बिस्तारै कम कम माया मार्दै गएको त सत्य हो नि ?
दुईवटा कुरा त्यसमा । एउटा पाठ जनताले सिकाउँछ पनि र नेतावालाहरुले सिक्नु पर्छ । जनताले हामीलाई त्यस्तै एउटा सन्देस दिएको हो की ? राजाहरु बरु सक्रिय नभएकै जनताले खोजेको हो की ? त्यही एउटा पाठ मैले सिकेको छु । तर, जनताले बिर्सन हुन्न । राजाले अभिभावकको रुप लिनु पर्छ । कहिले त्यसका लागि जे गर्नु पर्छ त्यो समयमा कदम उठाउनै पर्छ ।
सर्वसधारणको सुरक्षा, रक्षा गर्नुपर्ने अबस्था आउँछ । त्यो समयको विचार गर्दा परिस्थिति अर्कौ थियो । त्यो पछाडी फर्केर हेर्नु मात्र होइन, अगडि देश कस्तो हुन्छ ? समृद्ध, सफल त्यस्तो देश हामीलाई चाहिएको छ । त्यतातिर हामी सबै जुटेर जानु पर्दछ ।
दरबार हत्याकाण्ड र माघ १९ राजतन्त्र अन्त्यमा प्रमुख कारण हो भन्छन् । आजसम्म पनि दरवार हत्याकाण्डको रहस्य खुल्न सकेको छैन । यसमा के भनाइ छ ?
सर्वप्रथम म काठमाडौं मै थिइन, घट्ना हुँदा । जे जति हाम्रा परिवार छन् त्यो घट्नामा बाँचेर आएका । उनीहरुको कुरा सुन्दा तथ्य सत्य कुरा आयोगहरुबाट पनि निस्किसकेको छ । अव यि कारणहरुले राजसस्थालाई के न केही रुपमा असर पारेको हो भने त्यो अलिकति पछाडी र अगाडि हेर्दा हो/होइन भन्ने थाहा हुन्छ । यो कुरा जनतलाई छाडिदिनु पर्छ ।
राजतन्त्रको इतिहास समाप्त हुनुमा कहाँनिर के कमजोरी भयो भन्ने महसुस हुन्छ ?
समाप्त भइसकेको छ भन्ने जस्तो लाग्दैन । त्यसैले त्यो पनि अलि 'हाइपोथेटिकल' नै भयो । अघि भने जस्तै देशको इतिहासको पानाहरु पल्टाएर हेर्दाखेरी माथिजाने, तलजाने, भित्रिने-बाहिरिने भइरहन्छ । फेरि म दाहोर्‍याउछु, जनताले यो कुरालाई गहन र जिम्मेवारीका विचार गरेर जे निधो गर्छन् । त्यही सबैले मान्नु पर्छ ।
नेपाली जनताले राजतन्त्र हटाइसकेपछि दलहरु गठबन्धन बनाएर अघि बढ्न खोजी रहेका छन् । तर, पनि संविधान निर्माण हुन र शान्ति प्रकृया टुङ्गोमा पुग्न बाँकी छ । माओवादी र अन्य दलहरु मिलेर शासन गरिरहेका छन्, यो किसिमको शासन प्रणालीलाई के भन्नुहुन्छ ?
जनताले यही चाहन्छन् भने ठिक छ । तर, देशलाई, सर्वसाधारणलाई यही ठिक छ यही बाटो नै हिड्न सक्छ भने हामीले के भन्नु । उहाँहरुलाई चित्त बुझेको छैन, कुनै न कुनै ठाउँमा, कुनै न कुनै कुरामा भनेदेखि जस्ले अहिले शासन गरिरहेका छन् । उहाँहरुले विचार गरेर जनताको कुरालाई मान्यता दिनुपर्छ । जनताको र राष्ट्रको हितलाई ध्यानमा राखेर काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ ।
तपाईंका भावी योजना अव के छन् ?
नेपालमै बस्छु । नेपालको सेवा गर्छु । नेपालीको सेवा गर्छु । मेरो योजना पहिले पनि यही थियो । अहिले पनि यही छ । भावी पनि त्यही हुनेछ ।

No comments: