News

Mar 27, 2010

संयुक्त लिम्बुवान मोर्चा, हङकङको प्रेस-विज्ञप्ति

मितिः २०६६ फागुन १० गते(२२ फेब्रुवरी २०१० )
लिम्बुवान गौतम बुद्ध जन्मनुभन्दा धेरै सय वर्षपहिले स्थापना भएको प्राचीन भू-राज्य हो । हाल आधुनिक नेपाल अर्न्तर्गत मेची नदी पश्चिम, अरुण-सप्तकोशी नदी पूर्व, तिब्बत दक्षिण र भारत उत्तर यति चार किल्लाभित्रका सम्पूर्ण नौं जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजङ, पाँचथर र इलाम अभिन्न लिम्बुवान भूमि हो । यो लिम्बुवान आदिवासी लिम्बूहरुको आदिम भूमि हो, आदिम राज्य हो । लिम्बुवान प्राचीन स्थापना कालदेखि वर्तमानकालसम्म प्रमाणित गर्ने प्रशस्त ऐतिहासिक प्रमाणहरु भएको ऐतिहासिक प्रमाणित राज्य हो साथै राज्य बन्नका लागि चाहिने पर्याप्त भौगोलिक क्षेत्र तथा निरन्तरता पनि भएको राज्य हो । लिम्बुवान संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले निर्धारण गरेको पहिचान र सामर्थ्य दुवै भएको राज्य हो । यी माथिका सबै कुराहरु लिम्बुवानसंग भएको थाहा हुँदाहुँदै पनि उपरोक्त समितिले मुलुकलाई १४ प्रदेशमा विभाजन गर्दा लिम्बुवानको धनकुटा र संखुवासभा जिल्लाको पश्चिमको केही भाग तथा लिम्बुवानको अभिन्न भूमि झापा, मोरङ र सुनसरीलाई छुट्याई लिम्बुवानलाई विखण्डन गरिएकोले संयुक्त लिम्बुवान मोर्चा, हङकङ घोर आपत्ति गर्दछ । हामी नेपालको राष्ट्रिय अखण्डता तथा नेपाल अन्तर्गत लिम्बुवानको क्षेत्रीय अखण्डता दुवैप्रति पूर्ण प्रतिबद्ध छौं । तसर्थ संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले तयार पारेको १४ प्रदेशको संघीय राज्यको खाकामा लिम्बुवान राज्यको नक्सा तत्काल सच्याई अरुण-सप्तकोशी नदी पूर्वको साबिक लिम्बुवानलाई जस्ताको तस्तै राख्न संयुक्त लिम्बुवान मोर्चा, हङकङ जोडदार माग गर्दछ ।
मोर्चामा आबद्ध राजनीतिक दल तथा संगठनहरुः
१) लिम्बुवान मुक्ति मोर्चा शाखा, हङकङ- अध्यक्ष, प्रकाश यक्सो
२) लिम्बुवान राष्ट्रिय मोर्चा शाखा, हङकङ- अध्यक्ष, दिल बहादुर पालुङवा
३) लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा शाखा, हङकङ- सचिव, एम. बी. थोप्रा
४) नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ शाखा, हङकङ- अध्यक्ष, ओमराज सम्बाहाङफे
५) संघीय लिम्बुवान राज्य परिषद शाखा, हङकङ- नबराज काम्बाङ्ग
६) नेपाल स्वायत्त लिम्बुवान संघ शाखा, हङकङ- प्रतिनिधि, मुकुम शेर्मा
सहयोगी/समन्वयकर्ताः
किरात याक्थुङ चुम्लुङ, हङकङ- अध्यक्ष, निर प्रसाद लिम्बू

No comments: