News

Mar 31, 2010

मोटरसाइकललाई ट्याक्सीका रुपमा चलाउन सरकारसँग प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १८- मोटरट्याक्स कम्पनीले काठमाडौंमा दुई सय मोटरसाइकललाई ट्याक्सीका रुपमा चलाउन सरकारसँग प्रस्ताव गरेको छ। मुलुकमा पहिलो पटक मोटरसाइकललाई ट्याक्सीका रुपमा चलाउन खोजिएको हो। कम्पनीले सस्तो र सजिलो साधनका रुपमा ट्याक्सी संचालनको प्रस्ताव गरेको हो। अहिले यो कम्पनी यातायात व्यवस्था विभागमा संचालन अनुमतिको पखाईमा छ।
'हामीले सस्तो र छिटो साधनका रुपमा मोटरसाइकल ट्याक्सी संचालन अनुमति मागेका हौ,' कम्पनीका कार्यकारी प्रमुख शिवनारायण यादवले नागरिकसँग भने, 'अनुमति पाए सर्वसाधारणले सस्तो यातायातको साधन पाउने छन्।' कम्पनीले झण्डै पाँच करोडको लगानीमा यो सेवा सुरु गर्दैछ। उनका अनुसार अनुमति पाएको केही दिनमै राजधानीमा ट्याक्सी संचालनमा आउने छन्। 'मोटरसाइकलका लागि केही कम्पनीसँग कुराकानी भइरहेको छ,' यादबले भने, ' अनुमति पाए संचालनमा आउनेछ।'
विकसित मुलुकमा प्रचलनमा रहेको यो मोटरसाइकल ट्याक्सी नेपालका लागि नौलो हो। अहिले यस्तो ट्याक्सी भियतनाम, बेलायत, फ्रान्स, लाओस, थाइल्यान्ड र भारतको पुनामा संचालनमा छन्।कम्पनीका अनुसार मोटरसाइकल ट्याक्सी अहिले संचालनमा रहेका ट्याक्सीको भाडाभन्दा आधा कम पर्छ। 'अहिले संचालनमा रहेका ट्याक्सीले प्रतिकिलोमिटर २३ रुपैयाँ लिन्छन्,' यादवले भने, ' यस्तो ट्याक्सीमा प्रतिकिलोमिटर ११ रुपैयाँ भन्दा कममा चढ्न पाइनेछ।'

No comments: