News

Mar 19, 2010

१४ महिने छोराको न्वारान गर्ने बाबु खोज्दै युवती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, ५ चैत,चार वर्षको प्रेमसम्बन्धपछि जन्मिएको छोरासमेत १४ महिनाको भइसक्यो । तर, अहिलेसम्म न्वारन हुन सकेको छैन । मलाई गर्भवती बनाएर भागेका प्रेमीको अहिलेसम्म अत्तोपत्तो छैन, कसलाई बाबु मानेर न्वारन गरूँ ?' नाबालक छोरो काखी च्याप्दै सुमित्रा चौधरी बिहीबार पत्रकारसँग भक्कानिइन् ।तीन महिनाको गर्भ तुहाउन नसकेपछि आफ्ना प्रेमी प्रेम बुढामगर भागेको कथा पनि उनले सुनाइन् । 'गर्भ तुहाउन ३० साउन ०६५ मा घोराही आएका थियौँ, तर मेरो शारीरिक कमजोरीले सफल हुन सकेन,' गंगापुर- ७ दाङकी सुमित्राले भनिन्, 'गर्भपतन गराउन नसकेपछि म माइती फर्कें, प्रेमी प्रेम भने मेरो गर्भ होइन, भन्दै भागेछन् ।' १ हजारको भिटामिन लिएर माइती गएकी सुमित्राले घर फर्किएपछि प्रेमको अनुहार देखेकी छैनन् । 'प्रेम घरबाट भागेपछि माइतीमा छोरा जन्माएँ,' सुमित्राले रुँदै भनिन् । समाजका अगुवा महिलाको सहयोगमा सुमित्रा प्रेमको घरमा त गइन्, तर उनले त्यहाँ सुखशान्तिले बस्न पाइनन् । उनी २१ पुस ०६६ मा प्रेमको घर गएकी थिइन् ।
उनी घरमा भित्रिँदा प्रेम घरमा नआउँदासम्म मासिक १ हजार ७ सय ५० भरणपोषण दिने सासू गौरीले सहमति गरेकी थिइन् । तर, अहिलेसम्म एक पैसा पनि पाएकी छैनन् सुमित्राले । घर भित्रिएपछि उनले झनै दुःख पाइन् । 'दुई महिनासम्म परिवारको ठूलो यातना सहेर घरमै बसेँ,' उनले भनिन्, '२९ फागुन ०६६ देखि मलाई सासूले बिहानबेलुका खानसमेत दिन छाडिन् ।'
अहिलेसम्म सुमित्राले प्रेमका घरमा बाससम्म पाएकी छिन्, खान पाएकी छैनन् । 'खाना माइतीमा खान्छु, घरमा बास बस्छ जान्छु,' उनले भनिन्, प्रेमले छोरा स्वीकार नगरुन्जेल घर छाड्दिनँ ।' आफू घर भित्रिएको साता नपुग्दै प्रेमले आफ्नो गर्भ होइन भन्दै डिएनए परीक्षण र सासू गौरीदेवीले गाली बेइज्जतीको मुद्दा जिल्ला अदालत दाङमा दर्ता गराएको उनले बताइन् । 'मलाई थाहा नै नदिई अदालतमा मुद्दा हालेछन्,' उनको भनाइ छ ।
प्रेम गाडीमा हेल्परको काम गर्ने र एउटै ठाउँको भएकाले चार वर्षसम्म आफूहरूबीच शारीरिक सम्बन्ध कायम भएको सुमित्राले बताइन् । स्थानीय पारा लिगलको सहयोगमा प्रेमको घर भित्रिएकी सुमित्राले २९ फागुन ०६६ मा सासू गौरीको हातबाट पिटाइ खाएको बताएकी छिन् । उनले न्यायका लागि पहल गरिदिन सबैसँग अनुरोध गरेकी छिन् ।

No comments: