News

Mar 26, 2010

अल-कायदाका एक सय १३ लडाकुलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रियाद/ साउदी अरेबियाले अल-कायदाका एक सय १३ लडाकुलाई पक्राउ गरेको छ । साउदी अरेबियाका सुरक्षाकर्मीले तीनवटा अखडामा आक्रमण गर्दा एक सय १३ अल-कायदा लडाकु पक्राउ परेका हुन् ।एउटै अखडाबाट एक सय एकजना र अन्य दुईवटा अखडाबाट १२ जना पक्राउ गरिएको थियो । अल-कायदा समर्थित लडाकु साउदी अरेबियास्थित इन्धन प्रशोधन कारखानामा आक्रमण गर्ने योजनामा रहेको खुलासा भएपछि अखडामा आक्रमण गरिएको थियो । पक्राउ परेकामध्ये ४७ जना साउदी, ५१ जना यमेनी र बाँकी सोमालियन र बंगलादेशी नागरिक छन् ।सुरक्षा कारबाहीमा विस्फोटनकारी हातहतियार, कम्प्युटर, मोबाइल, फोन कार्ड, नगद र षड्यन्त्र योजनाका केही दस्तावेजसमेत जफत गरिएको जनाइएको छ ।गत अक्टोबरमा पनि दुई अल-कायदा लडाकुलाई सुरक्षाकर्मीले गोली हानी हत्या गरेको थियो भने एक लडाकुलाई पक्राउ गरेको थियो ।साउदी अरेबियामा त्यस वेलादेखि नै अल-कायदा लडाकुको खोजी कार्य तीव्र बनाइएको थियो । अहिलेसम्म सुरक्षाकर्मीले ठूला र सानासमेत गरी तीनवटा अखडा फेला परेको छ ।अल-कायदा लडाकुमध्ये सबै विदेशी नागरिक रुढीवादी कट्टर मुसलमानी मुलुकमा कामको खोजी वा मक्का मदिनाजस्ता पवित्रस्थलको तीर्थयात्रा गर्ने बहानामा छिर्ने गरेको अधिकारीले बताएका छन् ।

No comments: