News

Mar 20, 2010

कोइरालाको निधनले संघीय लिम्बुवान राज्य परिषद पनि स्तब्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी बी आङबुङ
चैत्र ७, २०६६,नेपाली कांग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको असामयिक निधनले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद पनि स्तब्ध भएको छ। नेपाली राजनीतिमा सधैँ प्रमुख भूमिका निभाइरहनु हुने कोइरालाको निधनले तत्काल देशको सङ्क्रमणकालीन राजनीतिमा एउटा विश्वासिलो अविभावक गुमाएको तथा नेपालकै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन अहम भूमिका निभाइरहनुभएका वरिष्ठ नेता कोइरालाको निधनले अपूरणीय क्षति भएको कुरा मञ्चका महासचिव खगेन्द्र माखिमद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । साथै, मञ्चकै अध्यक्ष तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका पनि केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक' र संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदका सचिव दिनेश तुम्बापोद्वारा प्रेसित अर्को विज्ञप्तिमा भनिएको छ- 'कोइरालाको मृत्युले सिङ्गो राष्ट्र शोकाकुल भएको छ । त्यसैले, संघीय लिम्बुवानी विद्यार्थी शहीद मनिल तामाङको परिवारलाई रु. १० लाख क्षतिपूर्ति दिइयोस् भनी चैत्र ८ गतेदेखि संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषद एवम् मातृ पार्टी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आव्हान गरेको अनिश्चितकालीन लिम्बुवान आम हड्तालको कार्यक्रमलाई हाल स्थगित गरिएको छ । आन्तरिक रुपमा सरकारलाई दवाब दिइरहिनेछ र सरकारले एस.एल.सी. शुरुहुनुभन्दा अगावै हाम्रो मागहरु पूरा गरोस् नत्र तुरुन्त अनिश्चितकालीन लिम्बुवानवन्दको कार्यक्रमलाई अघि बढाइनेछ ।' सोही प्रेस विज्ञप्तिमार्फत् लिम्बुवानको नौवटै जिल्लाका कार्यकर्ताहरुलाई चैत्र ८ गते देखिको अनिश्चितकालीन आमहड्ताल स्थगित भएकोले सम्पूर्ण नेता कार्यकर्ताहरुलाई लिम्बुवानवासी जनताहरुमाझ सो सूचना सम्प्रेषण गरी जनजीवन सहज गरी दिनसमेत जानकारी गराइएको छ ।

No comments: