News

Mar 21, 2010

पाकिस्तानले नेपाली दूतावास नेपाललाई पटक-पटक आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
७ चैत,पाकिस्तानले सुरक्षाको कारण देखाउँदै इस्लामावादमा रहेको नेपाली दूतावास भवन सार्न नेपाललाई पटक-पटक आग्रह गरे पनि सरकारले वास्ता गरेको छैन ।
परराष्ट्र मन्त्रालयस्रोतका अनुसार पाकिस्तान सरकारले सुरक्षाको खतरा रहेको भन्दै हाल रहेको स्थानबाट अन्यत्र सर्नका लागि पटक-पटक नेपाली दूतावासलाई पत्र पठाइसकेको छ । पाकिस्तानले गत मंसिरमा दूतावासलाई पत्र पठाई त्यहाँबाट 'डिप्लोम्याटिक इन्क्लेभ' मा सर्न आग्रह गरेको हो । इन्क्लेभमा विश्वका विभिन्न ४६ देशका दूतावास र अन्तर्राष्ट्रिय संगठनहरूका कार्यालय छन् । नेपाली दूतावास पाकिस्तानको 'एफ सेभेन टु' मा अवस्थित छ । हाल त्यहाँको सरकारले इस्लामावादमा विभिन्न विदेशी देशका दूतावासका लागि 'डिम्प्लोम्याटिक इन्क्लेभ' भनेर अलग्गै सुरक्षित ठाउँ व्यवस्था गरिदिएको छ । त्यहाँ पाकिस्तान सरकारले विदेशी दूतावासका लागि २४ सै घन्टा सुरक्षा दिने गर्छ । नेपाली दूतावास भवन इन्क्लेभभित्र सार्नका लागि त्यहाँको सरकारले पटक-पटक आग्रह गर्दै आएको छ । पाकिस्तान सरकारले पठाएको पत्र दूतावासले परराष्ट्र मन्त्रालयलाई 'फरवार्ड' गरेको महिनौँ बितिसकेको, तर मन्त्रालयले कुनै रेस्पोन्स नगरेको स्रोतले बतायो ।
मन्त्रालयका एक उच्चअधिकारीले इन्क्लेभमा सर्न भवन लिजमा किन्नुपर्ने र त्यसका लागि पैसा निकासा गर्ने अवस्था नरहेको बताए । 'दूतावासहरूका लागि अर्थ मन्त्रालयमा रकम अनुरोध धेरैपटक गर्‍यौँ,' उन ले भने, 'विदेशमा रहेका दूतावासहरू कुनै सार्नुपर्ने छन्, कुनै मर्मत नगरी नहुने छन्, तर पैसा उपलब्ध गराउनै सकिएको छैन ।' हाल दूतावास डिप्लोम्याटिक इन्क्लेभबाहिर छ । गतवर्ष इस्लामावादस्थित दूतावास भवननजिक शक्तिशाली बम विस्फोट भएको थियो । 'आर्मी फ्रन्टियर पोस्ट' नजिक आतंककारीबाट गराइएको विस्फोटबाट नेपालीहरू भने कसैलाई केही भएन । विस्फोटमा परी सातजना विदेशी मारिएका थिए ।
पाकिस्तानमा कार्यवाहक राजदूत भई हालै फर्केका परराष्ट्र मन्त्रालयका सहसचिव खगनाथ अधिकारीले भने, 'बाहिर दूतावास हुँदैमा असुरक्षित हुन्छ भन्ने होइन, तर इन्क्लेभमा गए राम्रो हुन्छ ।' उनले नेपाली दूतावास सुरक्षित नै रहेको बताए । 'म त्यहाँ हुँदा दूतावासनजिक शक्तिशाली बम विस्फोट भयो,' उनले भने, 'हामीलाई लक्षित गरेर विस्फोट गराइएको थिएन, दूतावासमा सुरक्षा व्यवस्था राम्रै छ ।' नेपाली दूतावास पाकिस्तानी परराष्ट्र मन्त्रालयभन्दा १० मिनेट टाढाको दूरीमा छ । परराष्ट्र अधिकारीहरू विदेशमा रहेका नेपाली दूतावासहरूको सुरक्षाव्यवस्था राम्रो नहुने गरेको बताउँछन् । इस्लामावादस्थित नेपाली दूतावासका अधिकारीले यसबारे प्रतिक्रिया दिन चाहेनन् ।

No comments: