News

Mar 23, 2010

प्रदर्शनका कारण बिहानैदेखि जनकपुरमा तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ मार्च,२०१०,बलात्कारमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाहरुको प्रदर्शनका कारण आज चौंथो दिन पनि जनकपुर तनावग्रस्त बन्न पुगेको छ । प्राप्त समाचार अनुसार प्रदर्शनकारीहरुले आज पनि बिहानैदेखि जनकपुरको चोक चोकमा टायर बालेर प्रदर्शन शुरु गरेपछि तनाव उत्पन्न भएको हो । प्रहरीका एक अधिकृतले एक महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि शनिबारदेखि जनकपुरमा तनाव उत्पन्न भएको हो ।
प्रदर्शनकारीहरुले बिहानैदेखि भानु चोक, रेलवे स्टेशन क्षेत्र, जानकी चोकमा प्रदर्शन जारी राखेका छन् । यस अगाडि हिजो पनि प्रहरी र प्रदर्शनकारीबीच विभिन्न स्थानमा झड्प भएका थिए । आक्रोशित प्रदर्शनकारीहरुले जानकी प्रहरी चौकीमा आगजनी गर्ने प्रयास समेत गरेको थियो । प्रदर्शनकारीहरुको भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही स्थानमा हवाई फायर समेत गर्नुपरेको थियो ।
यसैबीच सरकारले जनकपुर घटनाको सम्बन्धमा छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव जन्मजय तिमिल्सिनाको संयोजकत्वमा गठित छानविन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक हेमन्त मल्ल ठकुरी र राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रीय कार्यालय, हेटौंडाका सहायक प्रमुख राजेन्द्र खत्री रहेका छन् ।

No comments: