News

Mar 25, 2010

चीनले नेपाली सेनालाई शान्ति मिसनमा सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, चैत १२- चीनले नेपाली सेनालाई राष्ट्रसङ्घीय शान्ति मिसनमा सहयोग गर्ने भएको छ। रक्षा मन्त्री विद्या भण्डारीसँग बिहीबार साँझ बेइजिङमा भएको द्विपक्षीय वार्तामा चिनियाँ रक्षामन्त्री जनरल लियाङ ग्वाङलिएले उक्त जानकारी दिएका हुन्।
तर शान्ति मिसनका लागि के/कस्तो सहयोग गर्ने खुलाइएको छैन। बेइजिङस्थित स्रोतका अनुसार राष्ट्रसङ्घीय शान्ति मिसनको अगुवा राष्ट्र भएकाले दुवै देशले शान्ति र स्थायित्वका लागि द्विपक्षीय र क्षेत्रीय सहयोगमा जोड दिने समझदारी भएको छ। चीन संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सदस्यका साथै राष्ट्रसङ्घलाई अनुदान दिने ठूला राष्ट्रमध्ये एक हो। शान्ति मिसनसहित शिक्षा, स्वास्थ्य, विकास निर्माण र बिपद नियन्त्रणका लागि नेपाली सेनालाई चीनले सहयोग गर्ने आश्वासन दिएको रक्षा मन्त्रीसँगै बेइजिङमा रहेका प्रेस सल्लाहकार सुवास देवकोटाले बताए। “चिनियाँ रक्षा मन्त्रीले चीन सरकार तथा जनमुक्ति सेनाले यस्तो सहयोग गर्ने विश्वास दिएका छन्”- देवकोटाले भने। नेपाली सेनालाई चीनले दिँदै आएको लजिस्टिक सहयोग वृद्धि गर्ने भनिए पनि त्यस्तो कुनै सहमतिचाहिँ भएन। दूताबास स्रोतका अनुसार रक्षा तथा सैनिक अधिकारीको आदान-प्रदान र तालिमलाई निरन्तरता दिने सामान्य समझदारी भएको छ। डेढ घण्टा लामो भेटमा चिनियाँ रक्षा मन्त्रीले नेपालको एक चीन नीति र ओलम्पिक खेलअघि २००८ मार्चमा नेपालमा तिब्बती पृथकतावादीलाई नियन्त्रण गरेकोमा प्रशंसा गरे। रक्षा मन्त्री भण्डारीले नेपाली सेनालाई आधुनिक तथा व्यवासायिक बनाउन चीनले गरेको सहयोगको स्मरण गरिन्। चिनियाँ रक्षा मन्त्रीले अनुकूल समयमा नेपाल भ्रमण गर्ने जानकारी दिएका छन्। रक्षामन्त्री भण्डारीले शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चाउ युन खानलाई भेटने कार्यक्रम छ। चैत ९ गते ग्वान्झाओबाट चीन भ्रमण सुरु गरेकी रक्षा मन्त्री भण्डारी बुधबार साँझ बेइजिङ पुगेकी हुन्। मङ्गलबार उनले ग्विलिनस्थित चिनियाँ जनमुक्ति सेनाको तालिम केन्द्र अवलोकन गरेकी थिइन। थप तीन दिन बेइजिङमा बिताएर रक्षा सचिव नवीन घिमिरे, मेजर जनरल नेपाल भूषण चन्द, ब्रिगेडियर पवनबहादुर पाँडे, प्रेस सल्लाहकार सुवास देवकोटासहितको पाँच सदस्यीय टोली चैत १६ गते स्वदेश फर्कनेछ।

No comments: