News

Mar 27, 2010

चैत १५- सरकारले सार्वजनिक यातायातको भाडादर शनिबारदेखि लागू हुने गरी वृद्धि गरेको छ।
डिजेलबाट चल्ने सवारीसाधनमा ९ दशमलब ९ र पेट्रोलबाट चल्ने सवारीसाधनमा ५ प्रतिशत भाडा बढेको छ। अब यात्रुले छोटो दूरीको बसमा न्यूनतम ११ रुपैयाँ भाडा तिर्नुपर्छ। यसअघि १० रुपैयाँ थियो। काठमाडौं उपत्यकाका यात्रुले न्यूनतम ११ देखि अधिकतम १९ रुपैयाँसम्म भाडा तिर्नुपर्छ। ट्याक्सीमा प्रतिकिलोमिटर २३ रुपैयाँ तिनुपर्छ।सरकारले २०६५ फागुन २० मा वैज्ञानिक भाडादर निर्धारण गरेको थियो जसअनुसार भाडामा इन्धनको हिस्सा ३५ प्रतिशत र लुब्रिकेन्ट्स, मोटर पार्टस्, कामदारको तलब, च्यासिस मूल्यलगायतको हिस्सा ६५ प्रतिशत राखिएको थियो। यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा भाडा बढाउने निर्णय भएको हो। पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगत्तै व्यवसायीले भाडा बढाउन दबाब दिएका थिए। तर सरकारले सामान्य मूल्यवृद्धिमा भाडा बढाउन नपर्ने भन्दै बेवास्ता गरेको थियो।
'तीनपटक गरेर डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो,' यातायात व्यवस्था विभागका महानिर्देशक शरदचन्द्र पौडेलले नागरिकसँग भने, 'वैज्ञानिक भाडादर अनुसार भाडा निर्धारण गरिएको हो।'
विभागका अनुसार डिजेलको मूल्यमा १० दशमलब ९० प्रतिशतले वृद्धि भइसकेको छ। 'यस अवधिमा तेस्रो पक्ष बिमा, मर्मत सम्भार र ब्याट्रीको मूल्यमा वृद्धि भइसकेको छ,' विभागको विज्ञप्तिमा छ, 'यो अवस्थामा भाडा समायोजन गर्नुपर्ने अवस्था आइसकेको छ।'
काठमाडौं उपत्यकामा नयाँ भाडादर अनुसार ४ किलोमिटरसम्म ११, ५ सम्म १२, ६ सम्म १३ हुँदै अधिकतम भाडा १९ रुपैयाँ निर्धारण गरिएको छ। यो भाडादर चक्रपथ परिक्रमा, चक्रपथभित्रका सडक र चक्रपथ बाहिरको चार किलोमिटरसम्म लागू हुने विभागले जनाएको छ। विभागका अनुसार चक्रपथ बाहिर ४ किलोमिटरभन्दा बढी दूरीमा प्रतिकिलोमिटर १ रुपैयाँ ४३ पैसाका दरले भाडा थप हुनेछ।
तराईका लामो दूरीमा प्रतिकिलोमिटर १ रुपैयाँ ३० पैसा भाडा निर्धारण भएको छ। काठमाडौंदेखि पोखराको भाडा प्रतिकिलोमिटर १ रुपैयाँ ४६ पैसा तोकिएको छ। अब यो दूरीमा यात्रुले २ सय ९२ रुपैयाँ भाडा तिर्नुपर्नेछ। पोखरा-नारायणघाट खण्डमा समेत यही भाडादर छ। पहाडी क्षेत्रका पक्की र ग्राभेल बाटोमा संचालन हुने बस, मिनिबसको प्रति किलोमिटर १ रुपैयाँ ७६ पैसा भाडा कायम गरिएको छ। डिलक्स बस र डिलक्स मिनिबसले निर्धारित भाडादरभन्दा २० प्रतिशत थप गर्न पाउने व्यवस्था छ। त्रिभुवन विमानस्थलमा चल्ने पर्यटक ट्याक्सीमा ५ किलोमिटरसम्म ३ सय १५ रुपैयाँ भाडा निर्धारण गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भने, 'तेलको भाउ तीन पटक बढ्यो, अन्य वस्तुको भाउ समेत बढिसकेकोले भाडा नबढाउँदा व्यवसायी मारमा थिए।'
उपभोक्तावादी संगठनले भने व्यवसायीको अनुचित लाभमा भाडा बढाएको आरोप लगाएका छन्। 'अहिले भाडा बढाउनुपर्ने अवस्था थिएन,' उपभोक्ताहित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'सरकारले उपभोक्तामाथि ठूलो अपराध गरेको छ।' उनका अनुसार ७० रुपैयाँसम्म डिजेलको भाउ हुँदा मूल्य बढाउन पर्दैन। नेपाल आयल निगमले पछिल्लो समयमा तीन पटक डिजेलको मूल्यवृद्धि गरेर प्रतिलिटर ६१ रुपैयाँ पुयाएको थियो।

No comments: