News

Mar 25, 2010

क्रान्तिकारी विद्यार्थीहरुले धरान उच्च माविमा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान,चैत १२, शिक्षण संस्था बन्द आह्वानको अवज्ञा गरेको भन्दै अखिल क्रान्तिकारीले आज (बिहीबार) बिहान यहाँको एक उच्च माविमा तोडफोड गरेको छ। पठनपाठन भैरहेको अवस्थामा क्रान्तिकारी विद्यार्थीहरुले धरान ४ स्थित धरान उच्च माविमा तोडफोड गरेको हो। करिब ८ जनाको समुहमा आएका क्रान्तिकारी विद्यार्थीहरुले प्रिन्सिपलको कार्यकक्षका टेवल, शिशा र पढाइ भैरहेको कक्षा कोठाको झ्यालमा तोडफोड गरेर क्षति पुर्याएका छन्।
क्रान्तिकारी विद्यार्थीहरुले आज बिहानै मात्र विद्यालयका सुरक्षा गार्डलाई विज्ञप्ती दिएकोले बन्द गर्ने नगर्नेबारे अन्यौल भैरहेको अवस्थामा दोहोरो कुराकानी नगरी एक्कासी तोडफोड गरेर भागेको प्रिन्सिपल राजविमल श्रेष्ठले बताए। 'आजै बिहान विज्ञप्ती छाडेको रहेछ, बन्द गर्ने नगर्ने सल्लाह हुनै पाएको थिएन'-प्रिन्सिपल श्रेष्ठले भने-'उनीहरु आएर बन्द किन नगरेको भन्दै मेरो कुरा नै नसुनी तोडफोड गर्न थालिहाले।'
दोस्रो कक्षा सञ्चालन भैरहेको समयमा एक्कासीको तोडफोड र नाराबाजीले विद्यार्थीहरुमा त्रास उत्पन्न भएको उनले बताए। विद्यालयमै भएको इटा हातमा लिएर झ्यालका शिशाहरु फुटाउदै र क्रान्तिकारी जिन्दावाद भन्दै क्रान्तिकारी विद्यार्थीहरु भागेको प्रत्यक्षदर्शी विद्यार्थीहरुले बताए। घटनाको विरोधमा आक्रोशित सो उच्चमाविका विद्यार्थीहरुले दोषीलाई पक्राउ गरी कार्वाही र पढन पाउने वातावरणको माग गदै प्रहरीलाई २४ घण्टे अल्टिमेटम दिएको छ। 'चौबिस घण्टा तोडफोड गर्नेलाई पक्राउ गरी कार्वाही नगरे हामी धरान बन्द गछौ भनेर प्रहरीलाई चेतावनी दिइसकेका छौ'-विद्यार्थी प्रेमकुमार राईले भने। अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुर्दशन श्रेष्ठले बन्द गर्न आग्रह गर्दा पनि नमानेपछि तोडफोड गरेको स्वीकारे। घटना लगत्तै प्रहरीले उनीहरुको खोजी तीब्र बनाएको छ।
यसैबीच, अखिल क्रान्तिकारीको २ दिने शैक्षिक आमहडतालको आव्हानले एसएलसी परीक्षाबाहेक सञ्चालन भैरहेको निजी विद्यालयहरुको फाइनल परीक्षा स्थगित भएको छ भने क्याम्पस तथा उच्च माविहरु बन्द भएको छ। 'कतिपय विद्यालयहरुको परीक्षा भैरहेको थियो, कतिको आजबाट शुरु हुनेवाला थियो, तर स्थिगित भयो'-डिपोट उच्चमाविका प्रिन्सिपल राजकुमार राईले भने।
आफ्ना ३ जना विद्यार्थी नेताहरुलाई झुटो आरोपमा प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको भन्दै उनीहरुको निशर्त रिहाइ र मुद्दा फिर्ताको माग गदै क्रान्तिकारीले २ दिने शैक्षिक आमहडतालको आव्हान गरेको छ। यसअघि, हिजो बुधबार सोही बिषयमा इलाका प्रहरी कार्यालयमा पनि क्रान्तिकारी विद्यार्थी र प्रहरी बीच झडप हुँदा एघार विद्यार्थी घाइते भएका थिए।

No comments: