News

Mar 27, 2010

लिम्बुवान साबिक कायम गर्न संयुक्त लिम्बुवान मोर्चा, हङकङको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/नवराज काम्बाङ र डीबी आङ्बुङ
फेबु्अरि २२, २०१०,संयुक्त लिम्बुवान मोर्चा, नेपालको विदेशस्थित् शाखा सङ्गठन संयुक्त लिम्बुवान मोर्चा, हङकङले अरुण-सप्तकोशी नदी पूर्वको साबिक नौ जिल्ला लिम्बुवानलाई जस्ताकोतस्तै राख्न जोडदार माग गरेको छ । मोर्चा हङकङले फेब्रुअरि २२ मा एक प्रेस-विज्ञप्ति प्रकाशित गरी सो माग राखेको हो ।
मोर्चाद्वारा प्रेसित विज्ञप्तिमा थप भनिएको छ- "लिम्बुवान गौतम बुद्ध जन्मनुभन्दा धेरै सयवर्ष पहिले स्थापना भएको प्राचीन भूराज्य हो । हाल आधुनिक नेपालअन्तर्गत मेचीनदी पश्चिम, अरुण-सप्तकोशी नदीपूर्व, तिब्बत दक्षिण र भारत उत्तर यति चार किल्लाभित्रका सम्पूर्ण नौं जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लिजोङ, पान्थर र इलाम अभिन्न लिम्बुवान भूमि हो । यो लिम्बुवान आदिवासी लिम्बूहरुको आदिम भूमि हो, आदिम राज्य हो । लिम्बुवानलाई प्राचीन स्थापना कालदेखि वर्तमानकालसम्म प्रमाणित गर्ने प्रशस्त ऐतिहासिक प्रमाणहरु छन् । साथै, राज्य बन्नका लागि चाहिने सम्पूर्ण आधारभुत आवश्यकता तथा भौगोलिक पर्याप्तता र निरन्तरता पनि छ । संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले निर्धारण गरेको पहिचान र सामर्थ्य दुवै लिम्बुवानसँग छ । यी माथिका सबै कुराहरु लिम्बुवानसंग भएको थाहा हुँदाहुँदै पनि उपरोक्त समितिले मुलुकलाई १४ प्रदेशमा विभाजन गर्दा लिम्बुवानको उत्तर-पश्चिमको सङ्खुवासभा र धनकुटाको केही भाग तथा लिम्बुवानको अभिन्न भूमि झापा, मोरङ, सुनसरीलाई छुट्याई लिम्बुवानलाई विखण्डन गरिएकोले संयुक्त लिम्बुवान मोर्चा, हङकङ घोर आपत्ति व्यक्त गर्दछ । हामी नेपालको राष्ट्रिय अखण्डता तथा नेपाल लिम्बुवानको क्षेत्रीय अखण्डता दुवैप्रति पूर्ण प्रतिवद्ध छौं । तसर्थ, संविधान सभाको राज्य पुनः संरचना तथा राज्यशक्तिको बाँडफुड समितिले तयार पारेको १४ प्रदेशको संघीय राज्यको खाकामा लिम्बुवान राज्यको नक्शा तत्काल सच्याई अरुण-सप्तकोशी नदीपूर्वको साबिक लिम्बुवानलाई जस्ताको तस्तै राख्न संयुक्त लिम्बुवान मोर्चा, हङकङ जोडदार माग गर्दछ ।"
मोर्चामा संम्वद्ध राजनीतिक दल, संगठनहरु र नेतृत्वहरु लिम्बुवान मुक्ति मोर्चा, हङकङ शाखा-अध्यक्ष प्रकाश यक्सो; लिम्बुवान राष्ट्रिय मोर्चा, हङकङ शाखा-अध्यक्ष दिल पालुङवा; लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङ, शाखा-सचिव एम. वी. थोप्रा; मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य यरिषद, हङकङ शाखा-अध्यक्ष नवराज काम्बाङ; नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ, हङकङ शाखा-अध्यक्ष ओमराज सम्बाहाम्फे र सहयोगी/समन्वयकर्ताः किरात याक्थुङ चुम्लुङ, हङकङ-अध्यक्ष निरप्रसाद लिम्बू रहेका छन् ।

No comments: