News

Mar 21, 2010

भारतीय नेताहरूले कोइरालाको निधनप्रति दुःख व्यक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई श्रद्धान्जलि दिन नेपाल आएका भारतीय नेताहरूले प्रधानमन्त्री माधवकुमार नेपालसँग आइतबार उहाँकै निवास बालुवाटारमा भेट गर्नुभएको छ ।उहाँहरूले पूर्वप्रधानमन्त्री कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नेपालमार्फत नेपाल र नेपाली जनतालाई समवेदना दिनुभएको छ ।भारतीय लोकसभाका सभामुख श्रीमती मीरा कुमार, अर्थमन्त्री प्रणव मुखर्जी र विदेशमन्त्री एसएम कृष्णाले प्रधानमन्त्री नेपालसँग शिष्टाचार भेट गर्नुभएको थियो । सभामुख कुमारले आफू, भारतीय लोकसभा र भारतीय जनताका तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको थियो भने मन्त्रीद्वयले भारतीय सरकारका तर्फबाट समवेदना प्रकट गर्नुभएको थियो ।भेटका अवसरमा उहाँहरूले नेपालको शान्ति प्रक्रियाले गति लिने अपेक्षा गर्दै दलहरूबीच सहमति निर्माण हुने र समयमै संविधान निर्माण हुने विश्वास व्यक्त गर्नुभएको थियो ।प्रधानमन्त्री नेपालले पूर्वप्रधानमन्त्री कोइरालाको निधन मुलुकका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै उहाँसहित सुरु गरिएको शान्ति प्रक्रियालाई उहाँको अनुपस्थितिमा पनि नेपालका राजनीतिक दल र यसको नेतृत्वले निष्कर्षमा पुर्‍याई समयमा संविधान निर्माण गर्ने विश्वास दिलाउनुभयो ।प्रधानमन्त्री नेपालले विगतमा झैं छिमेकी मित्र राष्ट्र भारतबाट नेपाललाई सहयोग प्राप्त भइरहने विश्वास पनि व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताउनुभयो ।

No comments: