News

Mar 29, 2010

माओवादीको सरकार ढल्ने निश्चित भएको ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १७- एकीकृत माओवादी वर्तमान सरकार केही दिनमा ढल्ने निश्चित भएको ठहर गर्दै भावी सरकारको नेतृत्वबारे विकल्प खुला राख्ने निष्कर्षमा पुगेको छ। स्थायी समिति बैठकमा सोमबार शान्ति प्रक्रियाको बाधक सरकार भएकाले यसलाई हटाउने प्रक्रियाबारे अन्य दलसँग छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराए। गिरिजाप्रसाद कोइरालाको निधनपछि राजनीतिक रिक्ततामा दक्षिणपन्थीहरूको चलखेल देखिएको उल्लेख गर्दै माओवादीले संविधान निर्माण र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहमतिमा जाने निर्णय गरेको छ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ठूलो दलको नाताले सरकारको नेतृत्व गर्नुपर्छ भने पनि नेतृत्व नगर्दैमा शान्ति प्रक्रिया र संविधान निर्माणमा नजाने नभनेको बताए। 'ठूलो दलको नाताले सरकारको नेतृत्व गर्नुपर्छ भन्नु स्वाभाविक हो तर विकल्प खुला राख्नुपर्छ भन्ने पार्टीको निष्कर्ष छ,' एक केन्द्रीय सदस्यले भने, 'माओवादी नेतृत्वको सरकारले मात्रै शान्ति प्रक्रियाको टुंगो र संविधान निर्माण हुन्छ भन्दा नेतृत्व नभए विरोधी जस्तो देखिने भएकाले यस्तो निष्कर्षमा पुगिएको हो।'
यसैबीच सञ्चारमन्त्री शंकर पोखरेलले सोमबारै दिउँसो दाङमा सरकारको नेतृत्व फेरिनसक्ने बताएका छन्। एमालेले 'सहमतिका लागि सबै विकल्प खुल्ला राखेको' औंल्याउँदै उनले सरकारको नेतृत्व परिवर्तन हुनसक्ने बताएका हुन्।

No comments: