News

Mar 18, 2010

समयमै संविधान जारी गर्न सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ५,प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' संविधानसभाले निर्धारण गरेको जेठ १४ भित्रै नेपालको नयाँ संविधान जारी गर्न सहमत हुनुभएको छ । बिहीबार प्रधानमन्त्री नेपालको निजी निवास कोटेश्वरमा भएको भेटघाटमा उहाँहरूबीच शान्ति, संविधान निर्माण र राजनीतिक गतिरोध अन्त्यलगायत सेना समायोजनका विषयमा छलफल भएको थियो ।
प्रम नेपाल र अध्यक्ष प्रचण्डबीच जेठ १४ भित्र संविधान बनाउने विषयमा छलफल भएको र सो अवधिमा संविधान जारी हुन सकेन भने उत्पन्न हुने स्थितिका विषयमा छलफल गरेको प्रमले बताउनुभयो । "जेठ १४ मा संविधान जारी गर्ने गरी हामी लाग्नुपर्छ", प्रधानमन्त्रीले थप्नुभयो, "सेना समायोजनको विषय सुरु गरिहालौँ, ढिला नगरौँ र त्यसैगरी लडाकूलाई निर्वाह भत्ता उपलब्धबारे सङ्ख्याका विषयमा उठिरहेको आशङ्का निर्मूल गर्न भूमिका खेल्नुपर्छ ।''
माओवादी गतिविधि र अभिव्यक्तिका विषयमा आशङ्का उठिरहेको बताउँदै प्रधानमन्त्रीले एमाओवादीलाई पनि यही सरकारमा अटाउने गरी आउन आग्रह गर्नुभयो । भेटपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले शान्ति, संविधान निर्माण र राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

No comments: