News

Mar 31, 2010

माओवादीले सरकार विरोधी आन्दोलन चर्काउने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि देशमा प्रतिगमनकारीहरु सल्बलाएको भन्दै प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीले सरकार विरोधी आन्दोलन चर्काउने घोषणा गरेको छ।पार्टी स्थायी समितिले लिएको निर्णय सुनाउँदै माओवादी प्रवक्ता दिनानाथ शर्माले चैत २४ गते देशैभरी जनप्रदर्शन तथा आमसभाहरु गरिने बताए। ती प्रदर्शनहरुको निम्ति नेताहरुलाई खटाइएको उनले जनाए।“सबै प्रतिगमनकारी, प्रतिक्रियावादी तथा दक्षिणपन्थीहरुको षडयन्त्रको केन्द्रविन्दु सरकार बनेको छ,” शर्माले आरोप लगाए। केही समययता गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षता विरुद्ध भनाइहरु सार्वजनिक हुन थालेपछि माओवादीले दक्षिणपन्थीहरुको चलखेल चर्किएको निश्कर्ष निकालेको हो।
त्यसैकारण अब आफु सकेसम्म लचिलो भएर समयमै संविधान जारी गर्न लागिपर्ने समेत माओवादीले निर्णय गरेको छ। “छलफल र कुराकानीलाई घनीभूत बनाउने र हाम्रो तर्फबाट सकेसम्म न्यूनतम सहमतिको लागि प्रयत्न गर्ने निर्णय भएको छ,” प्रवक्ता शर्माले बताए। प्रवक्ता शर्माले लचिलो बन्ने बताएपनि उनकै पार्टिको स्थायी समितिले उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्वचाहीं स्वाभाविक रुपमा पार्टि अध्यक्ष प्रचण्डले गर्नुपर्ने निचोड निकालेको थियो।
तर माओवादीले त्यस्तो निचोड निकालेको केही बेरमा नै मंगलवार अपरान्हको निम्ति पूर्वनिर्धारित संयन्त्रको बैठक अचानक स्थगित भयो। नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका अनुसार उनको पार्टि तथा नेकपा एमालका नेताहरुको कार्यव्यस्तताले गर्दा संयन्त्रको बैठक बुधवारलाई सारिएको छ। नयाँ संविधान लेख्न दुई महिनामात्र बाँकी रहेको छ। यस्तो बेला संविधान निर्माणमा रहेका अवरोधहरु सहमतिमार्फत फुकाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रनै अलपत्र परेको ठानिएको हुँदा दलहरुको अगाडि दिनदिनै दबाब भने बढिरहेको छ।

No comments: