News

Mar 31, 2010

सरकारले थप १६ जनालाई सहिद घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ चैत,सरकारले तराई आन्दोलनका क्रममा ज्यान गुमाएका थप १६ जनालाई सहिद घोषणा गरेको छ । अब तराई आन्दोलनमा मारिएका सहिदको संख्या ४० पुगेको छ ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उनीहरूलाई सहिद घोषणा गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शंकर पोखरेलले बताए । मधेसवादी दलहरूले तराई आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गरिनुपर्ने माग गर्दै आएका थिए ।
बैठकले झापामा मारिएका संघीय लिम्बुवान् परिषद्का कार्यकर्ता मनिल तामाङको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका क्रममा मारिएका तामाङलाई भने सहिद घोषणा गरिएको छैन । परिषद्ले उनलाई सहिद घोषणा गरिनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको थियो ।
सरकारका प्रवक्ता पोखरेलका अनुसार सञ्चारउद्यमी जमिम साहको हत्याको छानबिन गर्न गठित समितिकोे म्याद बैठकले १५ दिन बढाउने निर्णय गरेको छ । त्यस्तै, स्थानीय शान्तिसमितिहरूको म्याद एक वर्ष थपिएको मन्त्री पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विकास परिषद् गठनसम्बन्धी प्रस्ताव, माथिल्लो तामाकोसी वित्तीय व्यवस्थापन प्रस्ताव र मतदाता नामावली दोस्रो संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । त्यस्तै, राष्ट्रिय उत्पादकत्व तथा विकास केन्द्रको महाप्रबन्धकमा रमेशराज कुँवरलाई नियुक्त गरिएको छ । बैठकले खाद्यसुरक्षाका लागि जापान सरकारसँग ४० करोड रुपैयाँको सहयोग सम्झौताका लागि अर्थ मन्त्रालयलाई स्वीकृति पनि दिएको छ ।
यसैगरी, पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीलाई सार्वजनिक संस्थानका सवारीसाधन प्रयोग गर्न यसअघि दिइएको सुविधा कायमै राखी ती गाडी सरकारले नै उपलब्ध गराएको निर्णयसमेत बैठकले गरेको मन्त्री पोखरेलले बताए ।

No comments: