News

Mar 24, 2010

ज्ञानेन्द्रको बोलीले तहल्का मच्चियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मार्च, २०१०,पुर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था समाप्तिको कुरा 'काल्पनिक' मात्र भएको बताएका छन् । उनले भनेका छन्-' राजसंस्था समाप्तिका कुरा हाइपोथेटिकल हो, राजसंस्था होस् वा राष्ट्रिय सवालमा जनताको विचार नै महत्वपुण हुन्छ,' ।हिजो बुधबार एभिन्यूज टेलिभिजनसँग कुराकानी गर्दै पुर्वराजा ज्ञानेन्द्रले राजतन्त्रको बिषयमा जनताले निधो गर्नुपर्ने बताएका छन् । राजसंस्था समाप्तिपछि लामो मौनता ताड्दै पुर्व राजा ज्ञानेन्द्रले राजसंस्था बिदाईको निर्णय पुनर्विचार गर्नुपर्ने बताएका छन् । पुर्व राजा ज्ञानेन्द्रको भनाईपछि विभिन्न राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । एकीकृत माओवादीका नेताहरुले - पुर्व राजा ज्ञानेन्द्रलाई तत्काल कारवाही गरी मुद्दा चलाउनुपर्ने धारणा अगाडि सारेका छन् ।
बुधबार रामनवमीको अवसरमा जनकपुरस्थित रामजानकी मन्दिरमा पुजा अराधनाका लागि जनकपुर गएका पुर्व राजा ज्ञानेन्द्रले एभिन्यूज टेलिभिजनलाई अन्तरवार्ता दिंदै आफूलाई राजतन्त्र समाप्त भईसकेको जस्तो नलाग्ने बताएका छन् ।
उनले भनेका छन्- देशको इतिहासका पानाहरु पल्टाएर हेर्दा राजतन्त्र माथि जाने तल आउने, भित्रिने बाहिरिने यस्ता कुरा भईराख्छ जस्तो मलाई लाग्छ । त्यसैले फेरि म दोहोर्‍याउँछु जनताले नै यो कुरालाई गहन र जिम्मेवारीका साथ विचार गरेर जे निधो गर्छ, त्यही नै सबैले मान्नर्पर्छ ।
राजसंस्थाको बिषय होस वा अरु कुनै पनि राष्ट्रिय सवालमा जनता जनार्दन नै हुन्छ, बहुमत जनताले जे खोज्छन्, त्यो नै हाम्रो चाहना हो ।पुर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि विभिन्न राजनीतिक दलका नेताहरुले आपत्ति जनाएका छन् । एमालेका अध्यक्ष झलनाथ खनालले पुर्वराजा ज्ञानेन्द्रले मुलुकको संक्रमणकालीन स्थितिमा देखापरेको कठिनाई र चुनौंती देखेर महत्वाकांक्षा बढाएको हुनसक्ने भन्दै त्यो महत्वाकांक्षा नेपाली धर्तीमा पलाउने र फस्टाउने कुनै माटो बाँकी नभएको बताएका छन् ।
एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले पुर्वराजा ज्ञानेन्द्रले जनादेश र इतिहासको फैसलाविरुद्ध बोलेको भन्दै ज्ञानेन्द्रको यो चुनौंतीलाई जनताले प्रतिवाद गर्नुपर्ने बताए ।नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पुर्वराजा ज्ञानेन्द्रले जन आन्दोलनको अवमूल्यन गरेको भन्दै नेपाली जनता पछाडि र्फकने पक्षमा नभएको बताएका छन् ।

No comments: