News

Mar 23, 2010

जारी छ प्रहरी दमनविरुद्ध पत्रकारहरुको प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ मार्च,२०१०,जनकपुर घटनाको समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरुमाथि प्रहरीले दमन गरेको भन्दै नेपाल पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ । पत्रकारमाथि भएको प्रहरी दमनको विरोधमा आज महासंघका विभिन्न जिल्ला शाखाहरुले जिल्ला जिल्लामा विरोध प्रदर्शन गर्दैछन् ।
बलात्कारमा संलग्न प्रहरीमाथि कारवाहीको माग गर्दै भएका प्रदर्शनमा समाचार संकलन गर्न खटिएका पत्रकारहरुमाथि प्रहरीले कुटपिट गरेर घाइते बनाएको भन्दै पत्रकारहरु विरोधमा उत्रिएका हुन् । प्रहरीको कुटाईबाट घाइते भएका पत्रकारहरुलाई निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखी पत्रकारहरुले विरोध जुलुस निकालेका हुन् ।
पत्रकारहरुलाई प्रहरी उपरीक्षक श्याम खड्काको नेतृत्मा रहेको टोलीले घेरा हाली कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । आइतबार जनकपुरको भानुचोकमा पुगेका प्रदर्शनकारीहरुले विरोध प्रदर्शनका क्रममा एउटा एम्बुलेन्समा आगो लागेपछि समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकार महासंघ, धनुषा शाखाका महासचिव ईश्वरचन्द्र झा, पत्रकार विकास साह, जयनारायण झा, बीरेन्द्ररमण, लक्ष्मण यादव, धैर्यकान्त झा, नवीन सिंह, श्रीनारायण साह, विमलेस सिंह, बटुकनाथ झा र जगदीश साह घाइते भएका थिए ।
कुटपिटमा प्रहरीले बन्दुकको कुन्दा, लाठी, बुट प्रयोग गर्दा पत्रकार विकास साहको टाउको फुटेको छ भने अन्य पत्रकारको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको महासंघले जनाएको छ । उक्त घटनाका क्रममा घाइते पत्रकारहरुको काठमाडौं र जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । महासंघले अपराधीलाई यथाशीघ्र छिटो कारवाही गर्न र घाइते पत्रकारहरुको उपचारको व्यवस्था गर्न सरकारसमक्ष माग समेत गरेको छ । महासंघले हिजो काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि पनि धर्ना दिएर दोषी प्रहरीमाथि कारवाहीको लागि माग गरेको थियो ।

No comments: