News

Mar 20, 2010

धरानको भानुचौक एवम् बसपार्क क्षेत्रमा तनाव उत्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान,चैत ७- प्रहरीबाट यातायात मजदुर कुटिएपछि धरानको भानुचौक एवम् बसपार्क क्षेत्रमा तनाव उत्पन्न भएको छ। कुटपिटको विरोधमा यातायात मजुदरले सडकमा सवारी साधन तेर्स्याएर सडक अवरुद्ध पारेका छन्।
बिहान करिब साढे १० बजे मे १ ख १२९८ नम्बरको डल्फिन सुपरका चालक रवीन दर्जीलाई प्रहरीले विनाकारण कुटपिट गरेको यातायात मजदुरको आरोप छ। यात्रु चढाउन निषेधित क्षेत्रमा चढाएको भन्दै ट्राफिक प्रहरीले लाइसेन्स मागेपछि गाडी किनारा लगाउँदा-लगाउँदै अटेर गरेको भन्दै प्रहरीलाई बोलाएर कुटाएको चालक दर्जीले बताए। 'मैले गाडी रोक्न साइड लगाउँदै थिएँ, नटेरेको भन्दै पुलिस बोलाएर बाहिर झार्‍यो, अनि चार पाच जनाले कुट्न थालिहाले'- उनले भने।घटनालगत्तै मजदुरले सडकमा गाडी तेर्स्याएर सडक अवरुद्ध पारेपछि गन्तव्य हिँडेका सयौं यात्रु अलपत्र परेका छन्। घटनाको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात चालक सङ्घको बैठक बसिरहेको छ। ठोस निष्कर्ष ननिस्केसम्म यातायात सुचारु नगर्ने नेयास्वम सङ्गठनका कोशी अञ्चल उपाध्यक्ष भीम राई ज्वालाले बताए। उनका अनुसार बैठकले मागहरु तय गर्ने र सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाउनेछ।

No comments: