News

Mar 19, 2010

एक्स-बारबाट पक्राउ गरिएका महिलालाई रिहा गर्न रिट दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ६- काठमाडौँको सुन्धारास्थित एक्स-बारबाट पक्राउ गरिएका महिलालाई रिहा गर्न सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। संरक्षक समूह नेपालले बुधबार राति पक्राउ परेका २७ श्रमजीवी महिलाको रिहाइका लागि पहल थालेको हो। समूहले विज्ञप्ति जारी गरी क्याबिन, दोहोरी, डान्स रेस्टुरेन्ट र मसाज पार्लरजस्ता क्षेत्रमा कार्यरत् महिलालाई बाध्य पारी यौनशोषण गर्नु आधुनिक दासत्व भएको जनाएको छ।विज्ञप्तिमा 'यसैका आधारमा प्रहरीले अनावश्यक पक्राउ गर्ने, थुनामा राख्ने र यातना दिने कार्य पीडितलाई अझै पीडा दिने कार्य हो र यसले यी महिलाको मानव अधिकारको गम्भीर उल्लङ्घन भएको छ' भनिएको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको एक प्रतिवेदनमा काठमाडौँ उपत्यकामा एक हजार २०० क्याबिन, दोहोरी, डान्स रेस्टुरेन्ट तथा मसाज पार्लर रहेको र त्यहाँ रहेका करिब ५० हजार कामदारमध्ये ८० प्रतिशत महिला रहेको उसले जनाएको छ।यो व्यवसायमा करिब १२ देखि ३० वर्ष उमेर समूहबीचका महिला रोजगारीमा संलग्न रहेको, उनीहरूलाई अनिच्छित यौनकार्यमा लाग्न बाध्य पारिएको, ग्राहक एवम् सञ्चालकबाट हुने मौखिक, शारीरिक एवम् मानसिक दुर्व्यवहार पनि सहनुपर्ने भएको एक प्रतिवेदनले औल्याएको छ।यौनशोषणमा लाग्न बाध्य परिएका महिलालाई अनुचित प्रभाव, लोभलालच र दबाबमा पारी कामको समयभन्दा बाहिर गई अनैतिक एवम् अमर्यादित र यौनसम्पर्कसमेत गर्न व्यवसायी एवम् ग्राहकबाट बाध्य गराउने गरिएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको विज्ञप्तिमा जनाइएको छ।नेपाल प्रहरीले यस्ता क्षेत्रमा छापा मारी त्यहाँबाट महिला कामदारलाई मात्र ल्याई उनीहरूलाई केही सार्वजनिक (अपराध तथा सजाय) ऐन, २०२७ अन्तर्गत थुनामा राखी कारबाही चलाउने गरिएको भन्दै ससनेका तर्फबाट अध्यक्ष पूजा धिमालले रिट दर्ता गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

No comments: