News

Mar 23, 2010

नेपाल विद्यार्थी संघका कार्यकर्ताले जिशिअलाई कालोमोसो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्याङ्जा, १० चैत,नेपाल विद्यार्थी संघका कार्यकर्ताले स्याङ्जाका जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद श्रेष्ठलाई मंगलबार कार्यकक्षभित्रै पसेर कालोमोसो दलेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको भोलिपल्ट आइतबार कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन गरेको भन्दै नेविसंघले उनलाई कालोमोसो दलेको हो । सदरमुकामस्थित प्रगतिनगरमा रहेको शिक्षा कार्यालयमा अपराह्नमा पुगेका विद्यार्थीले 'किन परीक्षा सञ्चालन गरेको ? भन्दै एक्कासी कालोमोसो दलिदिएका थिए । शिक्षा अधिकारीलाई कालोमोसो दलिसकेपछि उनीहरू नेपाल विद्यार्थी संघ जिन्दावाद भन्दै कार्यालयबाट बाहिरिएका थिए । विद्यार्थीले राष्ट्र नै शोकमा डुबेका बेला शिक्षा अधिकारीको गतिविधि निन्दनीय भएको बताए ।
राष्ट्रियशोकका दिन पटकपटक फोनमार्फत आग्रह गर्दा पनि शिक्षा अधिकारी श्रेष्ठले अटेर गरेर परीक्षा सञ्चालन गर्न शिक्षकलाई दबाब दिएको नेपाल विद्यार्थी संघ स्याङ्जाका अध्यक्ष गुरुप्रसाद भट्टराईको आरोप छ ।
शिक्षा अधिकारी श्रेष्ठले भने सो दिन परीक्षा सञ्चालन गर्न कुनै पनि शिक्षक तथा विद्यालयलाई दबाब नदिएको बताए । सञ्चार अभावमा जिल्लाका केही विद्यालयमा परीक्षा सञ्चालन भएको उनले बताए । उनले आफूमाथि गुण्डागर्दीशैलीमा अभद्र व्यवहार भएको भन्दै दोषीलाई कडा कार्बाहीको माग गरेका छन् ।

No comments: