News

Mar 17, 2010

नेपाली युवतीमाथि लेबनानमा पारिवारिक बलात्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ५ - सरकारले सुरक्षित गन्तव्य भन्दै पुनः खुलाउन लागेको मध्यपूर्वी मुलुक लेबनानमा सामूहिक पारिवारिक बलात्कारमा परेकी एक युवती न्याय माग्दै अदालत जाने भएकी छन् । नेपाली महिला असुरक्षित भएको भन्दै वैदेशिक रोजगार विभागले गत मंसिरदेखि लेबनान जान रोक लगाएको थियो । घरेलु काम (हाउसमेड) मा लेबनान गएकी ३० वर्षीय युवती घरमालिक र उनका दुई छोराहरूको सामूहिक बलात्कारमा परेकी थिइन् । अध्यागमन विभागले पीडकहरूलाई कारबाही गर्न नसकेपछि उनी नेपाली कन्सुलर र नेपाली समुदायको सहयोगमा लेबनानी अदालतमा जान लागेकी हुन् । 'यहाँको अध्यागमनले यो मुद्दा टुंग्याउन सकेन,' लेबनानस्थित अवैतनिक दूत दीपेन्द्र उप्रेतीले कान्तिपुरलाई फोनमा भने, 'अध्यागमनले अनुसन्धान गरिसकेको छ । अब हामी नेपाली चेलीलाई न्याय दिलाउन पहिलो पटक यहाँको अदालतको ढोका ढक्ढकाउँदै छौं ।'
'घरमालिक्नीको सहयोगमा घरमालिक र तिनका छोराहरूबाट बलात्कृत भए,' पीडितले अध्यागमन अधिकारीहरूलाई दिएको बयान उद्धुत गर्दै उप्रेतीले भने, 'बलात्कार कहिले एक व्यक्तिबाट त कहिले सामूहिक रूपमा हुन्थ्यो ।'
पीडित युवतीका अनुसार काम सुरु गरेको तीन महिनादेखि नै घरमालिक्नीले आफ्ना श्रीमान र छोराहरूसँग शारीरिक सम्पर्क राख्न दबाब दिएकी थिइन् । उनी डेढ वर्षअघि त्यहाँ पुगेकी थिइन् । सँगैको घरमा काम गर्ने नेपाली युवतीको सहयोगमा त्यस घरबाट भागेर उनी नेपाली कन्सुलरमा पुगेपछि घटना सार्वजनिक भएको हो ।
प्रवासी कामदारमा हुने यस्ता अपराधमा महिलासमेत संलग्न भएको यो पहिलो भएको अध्यागनका अधिकारीहरूले बताएका छन् । विभागले घरमालिक र उनका जेठा छोराको नागरिकता जफत गरेको छ । माइला छोरा फरार छन् । 'अदालत जाने भएपछि नागरिकता जफत गरी पक्राउ परेका जेठो छोरा मारवानलाई बुधबार तारेखमा छाडिएको छ,' उनले भने ।
उप्रेतीका अनुसार १० दिनको बीचमा पारिवारिक बलात्कारमा परेका अर्का दुई नेपाली युवती पनि कन्सुलरको सम्पर्कमा आएका छन् । मंगलबार राति झापाकी २७ वर्षीया एक युवती शरणमा आएकी छन् । १० दिनअघि फोन सम्पर्कमा आएकी ती युवतीको अवस्था भने अज्ञात छ । 'ती युवतीले आफू गर्भवती भएको बताएकी थिइन्,' उनले भने, 'उनी निकै हडबढाएकी थिइन् । ठेगाना स्पष्ट भनिनन् । उनले फोन गरेको नम्बरमा गर्दा लेबनानी पुरुषले उठाउँछ ।'

No comments: