News

May 24, 2012

कांग्रेसका मन्त्रीद्वारा राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जेष्ठ ११ - कांग्रेसको नेतृत्व गर्दै सरकारमा गएका महामन्त्री कृष्णप्रसाद सिटौलाले बिहीबार बिहान सभापति सुशील कोइरालामार्फत राजीनामा दिएका छन् । उनले बिहान कोइरालालाई भेटेर राजीनामा बुझाएका हुन् । त्यसलगतै अर्का मन्त्री सूर्ययमान गुरुङले पनि सभापतिलाई राजीनामा बुझाएका छन् । कांग्रेस समेत संलग्न रहेको सरकारले गत मंगलबार संविधानसभाको म्याद थप गर्ने विधेयक दर्ता गराएपछि पार्टीभित्र सरकारबाट फिर्ता हुनुपर्ने माग तीव्र बनेको थियो । केन्द्रीय समितिको आजको बैठकमा सरकारबाट फिर्ता हुने निर्णय लिन तयारी भइरहेका बेला सिटौला र गुरुङको राजीनामा दिएका हुन् । कांग्रेस मन्त्रीले राजीनामा दिएपछि १९ दिनअघि निर्माण भएको भट्टराई नेतृत्वको राष्ट्रिय सहमतिको सरकार टुटेको छ । कांग्रेसले भट्टराई नेतृत्वको सरकारमा पाँच मन्त्री पाए पनि सिटौला र गुरुङ मात्रै सहभागी भएका थिए । सिटौलाले रक्षा, कानून तथा न्याय, संसदीय व्यवस्था तथा संविधानसभा मन्त्रालयको जिम्मेबारी लिएका थिए भने गुरुङले स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालयको जिम्मेबारी लिएका थिए । सिटौलाले यो बीचमा मन्त्रालयमा एउटा पनि निर्णय गराउन भ्याएनन् । सचिवालय समेत गठन गर्न सकेका थिएनन् । उनले आफू मन्त्री हुँदा चढेको गाडी समेत राजीनामा दिनसाथ फकाई दिएका छन् । 'वार्ता र छलफलमा व्यस्त हुँदा सचिवालय बनाउने र घरमा झन्डा राख्ने काम समेत भ्याउन सकिन' राजीनामापछि ईकान्तिपुरसँग कुरा गर्दै सिटौलाले भने- 'सरकारबाट राजीनामा दिँदा कुनै पछुतो छैन, तर संविधान निर्माणमा एकपटक बनीसकेको सहमतिबाट माओवादी पछि हटेका कारण भने दुःखी भएको छु ।' पाँच बुँदे सहमति कार्यान्वयन गर्ने दिशामा प्रधानमन्त्री र उनको पार्टी माओवादी नलागेका कारण आफूले राजीनामा दिएको सिटौलाले उल्लेख गरेका छन् । 'पाँच बुँदे सहमति बमोजिम १४ गते संविधान घोषणा हुनुपर्ने हो । त्यसअघि कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने हो । यही सहमतिका आधारमा हामी सरकारमा गएका हौ' सिटौलाले भने- 'सहमति अघि बढ्न नसकेपछि सरकारमा बसिराख्नुको कुनै औचित्व रहेन ।' उनले संविधान निर्माणका विवादित विषयमा सहमति भइसकेर पनि माओवादीका कारण उल्टिएको बताए । 'हामीले धेरै मेहनत गरेर सहमति गर्यौं तर त्यसलाई माओवादीले उल्टाइदियो, यसले माओवादी संविधान जारी नगर्ने दिशामा त गएको छैन भन्ने शंका उव्जिएको छ' सिटौलाले भने-' अझै पनि जेठ १४ भित्र सहमति गर्न सकिन्छ । त्यस दिशामा म निरन्तर लागिरहनेछु ।' उनले संविधानसभाको म्याद बढाउने प्रस्ताव सर्वोच्च अदालतको निर्णयको विपरीत रहेको र त्यो गल्ती भएको बताए । '१४ गतेभित्र सहमति भयो र दुई चार दिन संविधानजारी गर्न समय पुगेन भने त्यतिबेला के गर्ने भन्ने निर्णय जेठ १४ गते शीर्ष नेताहरूले गर्नुपर्छ, तर कांग्रेस यतिकै संविधानसभाको म्याद बढाउने पक्षमा छैन' उनले भने । राजीनामा दिएलगतै सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र चन्द्र भण्डारी कांग्रेसको रणनीति र केन्द्रीय समितिले गर्ने निर्णयका बारेमा छलफल गर्न नेता शेरबहादुर देउवाको निवासमा पुगेका थिए ।

No comments: